
मलंगवा,कात्तिक –१९ गते । ठेकेदारको ढिलाइ र लापरबाहीप्रति असन्तुष्ट स्थानीयहरूले बुधवार बिहानैदेखि सर्लाही सदरमुकाम मलंगवामा हुलाकी राजमार्ग कालोपत्रे गराउन माग गर्दै अनिश्चितकालीन चक्काजाम गरेका छन् ।
लामो समयदेखि धुलो–धुवाँको समस्या भोग्दै आएका पछि सडक कालोपत्रेको माग गर्दै सोहन झाको नेतृत्वमा स्थानीय प्रदर्शनमा उत्रिएका हुन। मलंगवाको बजार क्षेत्रभित्र पर्ने हुलाकी राजमार्गका केही भाग पिच भइसकेको भए पनि बजार भित्रको सडक अझै पिच हुन बाँकी छ।

स्थानीयका अनुसार, पटक–पटक ठेकेदार कम्पनीलाई काम अघि बढाउन दबाब दिइए पनि ठेकेदारले समयमै निर्माण कार्य पूरा नगरेको भन्दै उनीहरू सडक बन्द गर्न बाध्य भएका हुन । आन्दोलनमा रहेको मलंगवा नगर संरक्षण तथा सुधार समितिले ठेकेदारको ढिलाइ र लापरबाहीका कारण आन्दोलन अपरिहार्य भएको बताएको छ ।
सडक नबन्दा यातायातमा समस्या, धुलो–धुवाँको असर, साथै व्यापारिक गतिविधिमासमेत मन्दी आएको स्थानीय व्यापारीले बताएका छन्। कालोपत्रे नभएसम्म आफूहरुले आन्दोलन नरोक्ने स्थानीयले चेतावनी छ । बुधवार बिहान ७ बजेदेखि मलंगवा नगरपालिका–८ स्थित राजश्री चौकमा सुरु भएको चक्काजामले पूर्व–पश्चिम हुलाकी राजमार्गमा यात्रा गर्ने साधारण यात्रुलाई समस्या परेको छ ।

जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय र ठेकेदारबीच पटक–पटक छलफल भए पनि ठेकेदार कम्पनीले कुनै वास्ता नगरेपछि स्थानीयहरू बाध्य भएर आन्दोलनमा उत्रिएका समितिका पदाधिकारीहरूले बताएका छन ्। स्थानीयहरूले सम्बन्धित निकायमा दबाब दिँदै तत्काल निर्माण कार्य अघि बढाउन माग गरेका छन् निर्माणको काम अघि नबढाइए आन्दोलन जारी रहने उनीहरुले स्पष्ट पारेका छन्।










