
मलंगवा, कात्तिक— १७ गते । नेकपा (एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साहकी ममतामयी माता रामवती देवी साहको आइतवार राति ७८ वर्षको उमेरमा असामयिक निधन भएको छ । उनको निधन मलंगवा–३ स्थित निवासमा भएको हो ।

रामवती देवी साहले एमाले जिल्ला पार्टी कार्यालयको जग्गा दात्री समेत रहेकी थिइन् । पार्टीप्रति उनको निरन्तर योगदानको स्मरण गर्दै नेकपा (एमाले) सर्लाहीका नेता चुडामणी वाग्लेले उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताए ।

स्वर्गीय रामवती देवीका श्रीमान् गोखुलराम साह हुन् । उहाँका तीन छोरामध्ये नेकपा (एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साह डा. रामनारायण साह, वीरेन्द्र साह र ज्ञानेन्द्र साह रहेका छन्। उनको दाहसंस्कार सोमवार दिउँसो १ बजे भेल्हीस्थित झीम नदीमा सम्पन्न गरिएको पारिवारिक स्रोतले जनाएको छ।

दाहसंस्कारमा जिल्लाका विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, नेकपा (एमाले) का विभिन्न तहका नेता तथा जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरू सहभागी रहेका थिए । सहभागीहरूले स्वर्गीय रामवती देवीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।









