मलंगवा,कात्तिक—१७ गते । सर्लाही जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा रोजित केसीले औपचारिक पदभार ग्रहण गरेका छन् । पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघका अध्यक्षसमेत रहेका केसीले सोमवार एक समारोहबीच पदभार सम्हालेका हुन् ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गतको खेलकुद परिषद्को गत महिनाको निर्णयअनुसार ईश्वरपुर नगरपालिका–८ सर्लाही निवासी केसीलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनयन गरेको थियो ।
जिल्ला खेलकुद विकास समिति सर्लाही विगत सात वर्षदेखि पदाधिकारीविहीन अवस्थामा रहेको थियो। समितिमा एक अध्यक्षसहित ६ सदस्य रहने व्यवस्था भए पनि हालसम्म अध्यक्षबाहेक अन्य सदस्यहरूको मनोनयन प्रक्रिया पुरा हुन सकेको छैन ।


पदभार ग्रहणपछि अध्यक्ष केसीले समितिको जीर्ण संरचना पुनर्निर्माण गरी कार्यालयलाई पुन ः सञ्चालनमा ल्याउने निर्णय गरेको बताए । उनले सर्लाहीको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा, प्रदान गर्दै पारदर्शिता र समावेशी विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मधेश प्रदेशका पूर्व यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यता तथा मधेश प्रदेश खेलकुद परिषद्का सदस्य प्रभुनारायण सिवाकोटी विशिष्ट आतिथ्यतामा पदभार ग्रहण समारोहमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लास्थित विभिन्न खेलका प्रशिक्षक, खेलाडी, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। मधेश प्रदेश खेलकुद परिषद्ले प्रदेश खेलकुद विकास ऐन २०८१ को दफा १४ बमोजिम प्रत्येक जिल्लामा जिल्ला खेलकुद विकास समिति गठन गर्ने व्यवस्था गरेको छ । सोही प्रावधानअनुसार केसीलाई असोज ९ गतेको निर्णयका आधारमा सर्लाही जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित गरिएको हो ।