
लालबन्दी, कात्तिक १७ गते । सर्लाहीमा सोमवार बिहानदेखि तुवाँलो लाग्न सुरु भएको छ । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण बुधवार रातीदेखि लगातार परिरहेको वर्षा आइतवार दिउँसोबाट मात्र रोकिएको थियो । वर्षा रोकिएर आइतवार दिउँसोदेखि मौसम खुल्न थाले पनि सोमवार दिनभर आकाश धमिलो देखियो।

चक्रवातकै प्रभावका कारण यस वर्ष समय भन्दा चाँडै हुस्सु र कुहिरो लागेको मौसमविद्हरूको अनुमान छ । कात्तिक महिनामै बाक्लो तुवाँलो देखिएपछि स्थानीय आश्चर्यचकित भएका छन् ।
“बेमौसमी झरी परे लगत्तै अहिले तुवाँलो पनि लाग्न थाल्यो । यस्तो मौसम रहिरहे यस वर्ष तरकारी खेतीमा ठूलो असर पर्न सक्छ,” लालबन्दी बजारमा भेटिएका किसान सुरेन्द्र महतोले बताए ।

उनका अनुसार अहिले आलु र गोलभेंडा रोप्ने समय हो, लगातार तुवाँला र चिसो मौसम रहिरहे आलुलगाएतका तरकारी वालिमा नकारात्मक प्रभाव पर्छ,यसले आलुमा पात डढ्ने समस्या ल्याउछ । स्वास्थ्यकर्मीहरूले यस्तो मौसममा बिहान र बेलुका घरबाट निस्कँदा छाती ढाक्ने कपडा लगाउन र मनतातो पानी पिउन सुझाव दिएका छन् ।










