
मलंगवा,कात्तिक —१७ गते । सर्लाहीका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामु राज कडरियाले सोमवार (आज)बाट कार्यभार सम्हालेका छन् । कडरिया यसअघि गोरखाका सिडिओ थिए ।
गृह मन्त्रालयले कात्तिक ९ गते ३६ जना सहसचिवहरूको सरुवा गर्दै २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको थियो । सोही क्रममा कडरियालाई गोरखाबाट सर्लाही पठाइएको हो, भने सर्लाहीका तत्कालीन सिडिओ तुलसी बहादुर श्रेष्ठलाई गोरखा सरुवा गरिएको छ ।

श्रेष्ठ २०८१ पुस २५ गतेदेखि २०८२ असोज १३ गतेसम्म झण्डै नौ महिना सर्लाहीमा कार्यरत रहँदै जिम्मेवारी सम्हालेका थिए । नयाँ सिडिओ कडरिया आइतवार साँझ सदरमुकाम मलंगवा आइपुगेका जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ ।

सोमवार कार्यभार सम्हालेपछि सिडिओ कडरियाले जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार तथा पालिका प्रमुखहरूसँग जिल्लाको समग्र अवस्थाका सम्बन्धमा छलफल र परिचयात्मक कार्यक्रम गर्ने कार्यतालिका रहेको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।










