गोडैता, कात्तिक— १५ गते । जिल्ला समन्वय समिति सर्लाहीकी दलित महिला सदस्य तथा गोडैता नगरपालिका–६, वगदह निवासी सोनावती देवी बैठाको शनिवार निधन भएको छ । केही महिनादेखि पित्तथैलीको क्यान्सरबाट पीडित रही भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत ५५ वर्षीया बैठाको निधन भएको हो ।
उनी नेपाली कांग्रेसबाट गोडैता नगरपालिका–६ मा निर्वाचित वडा सदस्य समेत रहेकी थिइन् । जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहका अनुसार उनको पार्थिव शरीरमा नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहले पार्टीको चारतारे झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।


सभापति सिंहले भनेका छन् , “जिल्ला समन्वय समितिकी एक इमानदार र सक्रिय सदस्यको निधनले समितिमा अपूरणीय क्षति पुगेको छ ।” उनले बैठाको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गरेका थिए ।
उनको निधनले पार्टीले एक जना सक्रिय, जुझारु र अत्यन्त मिलनसार महिला नेतृ गुमाएको नेपाली कांग्रेसका निवर्तमान सभापति सिंहले बताए । उनले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको शान्तिका लागि कमना गरेका छन् । बैठाको शनिवार नै वगदहस्थित सोरम खोलामा अन्त्येष्टि गरिएको हो ।

जिल्ला समन्वय समितिमा एक जना सभापतिमा, एक जना उपसभापति र सात जना सदस्य रहने व्यवस्था रहेको छ । सदस्य बैठाको निधनपछि समितिमा आठ पदाधिकारी बाँकी रहेका छन् । आइतवार बस्ने जिल्ला समन्वय समितिको बैठकमा शोक प्रस्ताव पारित गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको सभापति सिंहले जानकारी दिएका छन् ।