मधुवनी, कात्तिक १५ गते । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति, संसदीय दलका उपनेता एवम् पूर्वमन्त्री बिरेन्द्र प्रसाद सिंहले महावीर झण्डाको उद्घाटन गरेका छन् । गोडैता नगरपालिका–१२ (मधुवनी) मा शनिवार आयोजित एक कार्यक्रमका बीच कांग्रेस नेता सिंहले उक्त झण्डाको उद्घाटन गरेका हुन् ।


वडा नं. १२ मेला समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रममा पूर्व मधेस प्रदेश सांसद तथा नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुशवाहा, पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको स्थानीय युवा सुमित सिंहले चियोचर्चा दैनिकलाई जानकारी दिए ।अग्लो खडा गरिएको महावीर झण्डाको विधिवत् पूजाअर्चना गरी उद्घाटन गरिएको मेला समितिले जनाएको छ ।


मेला समितिका अनुसार मेलामा महावीर अर्थात् हनुमानको पूजा–आराधना गरिन्छ । गाउँमा सुख–शान्ति र समृद्धि रहोस् भन्ने कामनासाथ महावीर (हनुमान)को झण्डा खडा गर्ने परम्परा रहेको बताइन्छ । मेलाको आकर्षणका रूपमा विभिन्न झुला, खेल–तमासा, कुस्ती लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको मेला समितिले जनाएको छ । शनिवारबाट सुरु भएको मेला आइतवार (आज) सम्पन्न भएको छ ।