
मलंगवा,कात्तिक–१३ गते । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसी बहादुर श्रेष्ठले आफ्नो कार्यकालको समिक्षा गर्दै शान्ति सुरक्षा, सुशासन, विकास समन्वय र सार्वजनिक सेवा सुधारका क्षेत्रमा सर्लाहीलाई अग्रस्थानमा पु¥याउन सफल भएको दावि गरेका छन् । गृह मन्त्रालयले कात्तिक ९ गते ३६ जना सहसचिवहरूको सरुवा गर्दै २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेपछि श्रेष्ठलाई गोरखा सरुवा गरिएको हो । गोरखाका प्रजिअ रामु राज कडरिया अब सर्लाही आउने भएका छन् ।
२०८१ पुस २५ गतेदेखि २०८२ असोज १३ गते बिहिवारसम्म सर्लाहीमा कार्यरत रहँदै प्रजिअ श्रेष्ठले प्रशासनिक नेतृत्वको भूमिकामा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सुशासन र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । उनले सार्वजनिक गरेको कार्यकाल समिक्षा प्रतिवेदन अनुसार, एकीकृत सुरक्षा रणनीति र संयुक्त कार्यान्वयन का कारण जिल्लाको शान्ति सुरक्षा स्थिति निरन्तर सुधार भएको छ । अपराध नियन्त्रण, सीमा सुरक्षा समन्वय, धार्मिक सद्भाव र सामाजिक सहअस्तित्व कायम राख्न सफल भएको उल्लेख गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सहकार्यका कारण सीमा अपराध नियन्त्रणमा उल्लेखनीय सुधार भएको र जेनजी आन्दोलनका घटनामा कुशल व्यवस्थापन गरेर जिल्ला स्थायित्व कायम राखिएको प्रतिवेदनमा उल्लेख छ । सेवा प्रवाह र सुशासनका क्षेत्रमा सिसिआइएमएस प्रणाली र वडा कार्यालयबाट अनलाइन सिफारिस सेवा सफलतापूर्वक कार्यान्वयन गरिएको छ । वृद्ध,अपाङ्ग र असक्त नागरिकका लागि “घरमै सेवा” कार्यक्रम सञ्चालन गरी नागरिकता लगायतका अत्यावश्यक सेवा उपलब्ध गराइएको छ ।
श्रेष्ठका अनुसार, जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहीता बढाउन नागरिक सुनुवाइ, दैनिक प्रगति प्रतिवेदन प्रणाली र फाइलिङ्ग व्यवस्थापनलाई नियमित पद्धतिमा अघि बढाएको छ । जिल्लामा यस अवधिमा १०,१८९ वटा वंशज र १०६१६ वाट वंशजक प्रतिलिपि नागरिकता वितारण गरिएको ६,०१३ वटा राहदानी, २,९४९ वटा सामावेशी प्रमाणपत्र र १३१ वटा संस्था नविकरण गरिएको विवरण प्रतिवेदनमा समावेश गरिएको छ ।

विकास र समन्वयका क्षेत्रमा पूर्व–पश्चिम चार लेन सडक, हुलाकी सडक, रेल परियोजना र ट्रान्समिसन लाइन निर्माणमा देखिएका अवरोध समाधान गर्न निरन्तर सहकार्य गरिएको उल्लेख छ । विपद् व्यवस्थापनमा शीतलहर, सुख्खा, डुबान र अन्य प्राकृतिक विपद्मा शीघ्र प्रतिकार्य, उद्धार र राहत वितरण प्रभावकारी रूपमा गरिएको छ । त्यस्तै, बजार नियमन र उपभोक्ता संरक्षणका लागि ३१ वटा उद्योग, संस्था र पसलमा अनुगमन गरी गैरकानूनी गतिविधिमा संलग्नहरूलाई जरिवाना गरिएको तथा कालोबजारी, मिलेमतो र कार्टेलिङ रोक्न सहकार्य र नियमन प्रणालीलाई सुदृढ बनाइएको प्रतिवेदनमा जनाइएको छ ।
श्रेष्ठले आफ्नो समिक्षा प्रतिवेदनमा भनेका छन्, “सर्लाही जिल्लाको शान्ति सुरक्षा, सुशासन, विपद् र सार्वजनिक सेवाको क्षेत्रमा देखिएको निरन्तर सुधार सामूहिक प्रयासको परिणाम हो ।”उनले सुरक्षाकर्मी, सरकारी निकाय, स्थानीय तह, पत्रकार, नागरिक समाज र सर्लाहीबासी सबैप्रति आभार प्रकट गरेका छन् ।

प्रजिअ श्रेष्ठको विदाइ कार्यक्रममा बिहीवार जिल्ला स्थित कार्यालय प्रमुख सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल, तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उहाँलाई सफल कार्यकालको शुभकामना दिइएको र “फेरि भेटौंला” कार्यक्रमका बीचमा औपचारिक विदाइ गरिएको थियो, ‘सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले चियोचर्चो दैनिकसंग कुरा गदै भने,’ । उनका अनुसार प्रजिअ श्रेष्ठ बिहीवार नै काठमाण्डौं प्रस्थान गरेका छन् भने नयाँ प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले सोमवारसम्म सर्लाहीमा कार्यभार सम्हाल्ने छन् । नयाँ आउने सिडिओ कडरिया पहिला सर्लाहीकै बरहथवाका वासिन्दा रहेको र उनले सर्लाहीबाटै नागरिकता लिएको पाइन्छ ।









