(अधिकृत भन्छन,‘राजनीतिक चपेटामा परे)

लालबन्दी, कात्तिक— १३ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका पुन ः विवादमा तानिएको छ । कहिले कर्मचारी सरुवा विवाद त कहिले बजेटको विषयमा मतभेद, हरिपुर्वा नगरपालिकामा विवादको कहिल्यै अन्त्य भएको छैन । सोही क्रम बिहीबार साँझ पनि दोहोरियो, लालबन्दी–७ स्थित प्रमुख प्रशासकीय अधिकृत बस्ने क्वाटरमा आक्रोशित भीड प्रवेश गरी तोडफोड गरेको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार, हरिपुर्वाका केही वडाअध्यक्षसहित करिब २०–३० जनाको समूहले लालबन्दी पुगेर प्रमुख प्रशासकीय अधिकृत सिकिन्दर साह र मेयर विनोद कुमार साहमाथि हातपात गर्ने प्रयास गरेका थिए । उनीहरूले योजनाको बाँडफाँडमा अनियमितता र पक्षपात गरेको आरोप लगाएका छन् ।


स्थानीयको आरोपअनुसार, प्रमुख प्रशासकीय अधिकृत साहले नगरपालिका नगई लालबन्दीमै बस्दै आफ्ना निकट व्यक्तिहरू र कमिसन दिनेहरूलाई मात्रै योजना बाँड्ने गरेका छन् । यसअघि पनि यस्तै आरोपहरू लाग्दै आएका थिए । मेयर विनोद साह ‘म भ्रष्टाचार गर्दिन’ भन्ने अनि नगरपालिका बाहिर गोप्य बैठक गरेर योजनाको बाँडफाँडमा संलग्न हुने गरेकाले उनी पनि स्वार्थपूर्तिका लागि पदमा रहेको स्थानीयवासीको आरोप छ ।
वडा नम्बर ८ का वडाअध्यक्ष रामेश्वर रायले प्रमुख प्रशासकीय अधिकृत साहले लालबन्दीमै बसेर योजनाहरू बाँड्ने गरेको दाबी गर्दै यो व्यवहार उचित नभएको बताए ।
तर प्रमुख प्रशासकीय अधिकृत सिकिन्दर साह भने आफूमाथिको आक्रमणलाई राजनीतिक प्रतिशोधको परिणाम भनेका छन् । उनका अनुसार, वडा नम्बर ८ का वडाअध्यक्ष रामेश्वर राय र वडा नम्बर ९ का वडाअध्यक्ष सुरेन्द्र महतो कोइरीको नेतृत्वमा आएको समूहले उनलाई ज्यान मार्ने उद्देश्यका साथ आक्रमण गरेको हो । “उनीहरूले क्वाटरमा तोडफोड र लुटपाटसमेत गरे, म राजनीतिक प्रतिशोधको सिकार बनेको छु,” उनले भने ।


साहले हरिपुर्वामा काम गर्न असहज भएको र अत्यधिक राजनीतिक हस्तक्षेपका कारण वातावरण बिग्रिएको टिप्पणी गरे । “आज त झण्डै नमारेका थिए,” उनले भने, “शुक्रवार(आज) सिडिओसँग भेटेर सम्पूर्ण विवरण बुझाउनेछु।” उनका अनुसार, मेयरले पटक–पटक सम्पर्क गरेपछि मात्रै बिहीवार मात्र आएर खाता खोलिएको हो । “खाता खुल्ने प्रक्रियामै छौँ, योजनाको बाँडफाँड भन्ने प्रश्नै आउँदैन,” उनले स्पष्ट पारे । साथै उनले लालबन्दी क्वाटरमा पनि केही वडाध्यक्ष जनताको कामका लागि आउने भएकाले त्यहीँबाट पनि सहजीकरण गरेको बताएका छन् ।
घटनाको क्रममा मेयर जोगाउने प्रयास गर्दा वडा नम्बर ६ का वडाअध्यक्ष रामसोगारथ राय घाइते भएका छन् । उनको नाक र आँखामा सामान्य चोट लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । पछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली पुगेपछि स्थिति नियन्त्रणमा आएको थियो । लालबन्दी प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ ।