लालबन्दी,कात्तिक—१३ गते । नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाले लायन्सकल्वलाई गरेको प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय लायन्स कल्वको साझेदारीमा झण्डै २ करोड बराबरको आँखा अप्रेसन लगायतका उपचारसेवाका लागि उपयोगी अत्याधुनिक उपकरण यहीँ मंसिर महिना भित्रै प्राप्त हुने भएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिट्रिक ३२५ ‘एच’ अन्तर्गतका पूर्व पदाधिकारी (पीएमसिसी) भरत प्रसाद ढुंगेलको विशेष सहयोगमा झण्डै दुई करोड रुपैयाँ बराबरका अत्याधुनिक आँखा उपचार उपकरणहरू नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीलाई हस्तान्तरण गर्न तयारी भइरहेको बताइएको छ ।


लायन्स क्लब अफ लालबन्दी, लायन्स क्लब अफ लालबन्दी सिटी र लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको संयुक्त पहलमा उपकरण हस्तान्तरणका लागि अनुगमन र छलफलका विभिन्न चरणहरू हुँदै आएका छन् । सोही क्रममा बिहिवार पनि लायन्स क्लबका केन्द्रीय प्रतिनिधिहरूसँग परियोजना सम्बन्धी विस्तृत छलफल सम्पन्न भएको रेडक्रस उपशाखा सभापति ध्रुव घिमिरेले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखा अध्यक्ष घिमिरेका अनुसार मंसिर महिनाभित्रै उपकरणहरू प्राप्त हुने छ। उनले भने, “उपकरण प्राप्त भएपछि हाल सञ्चालनमा रहेको हाम्रो सेवा केन्द्रलाई अस्पतालमा रूपान्तरण गरी विशेषज्ञ चिकित्सक सहित नियमित आँखा शल्यक्रिया (अपरेशन) सेवा सञ्चालन गर्न सक्षम हुनेछौं।”


लालबन्दीमा २०६५ साल कार्तिक २५ गतेबाट नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाले जानकी आँखा अस्पताल जनकपुरको सहकार्यमा नेत्ररोगका बिमारीलाई सेवा दिदै आइरहेको छ । “संस्थाले जम्मा गर्नुपर्ने भनिएको १७ हजार ७ सय ६० अमेरिकी डलर (नेपाली रूपैयाँ २५ लाख ४० हजार ) हामीले जम्मा गरेको छौ,अब मंसिर महिना भित्रै अत्याधुनिक उपकरण आउँछ ,‘हामी आँखा उपचार सेवा केन्द्रको स्तर वृद्धि गरि अस्पताल बनाउछौ,झसभापति घिमिरेले भने,। सामुदायिक आँखा उपचार सेवा केन्द्रले हाल लालबन्दी नगरपालिका वडा नम्बर –५ स्थित जरूवापानीको आफ्नै भवनबाट सेवा सञ्चालन गर्दै आएको छ ।


रेडक्रसले तीनवटै लायन्स क्लबहरूसँग सहकार्य र समन्वय गर्दै सामुदायिक स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने दृढ संकल्प गरेको छ, रेडक्रस उपशाखाका सचिव भरत प्रसाद गौतमले भने ।