सर्लाही, कात्तिक –१२ गते । बंगालको खाडीमा विकसित ‘मोन्थाऊ’ चक्रवातको प्रभाव सर्लाहीमा पनि पर्ने देखिएको छ । कारण मधेश प्रदेशमा आगामी दिनहरूमा भारी वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता शान्ति महतका अनुसार कार्तिक १२ गते बिहीवारदेखि कार्तिक १५ गते शनिवार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावमा पर्नेछ ।
विशेषगरी मधेश प्रदेशका सर्लाही, रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा मध्यम वर्षासँगै केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । यसले नदी किनाराका बासिन्दामा डुबान, सडक अवरुद्ध हुने, कृषि तथा यातायात क्षेत्रमा असर पर्ने जोखिम बढाएको छ ।


सर्लाही र अन्य प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले अत्यन्त जरुरी नभई यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । डुबान हुन सक्ने क्षेत्रका बासिन्दाले सुरक्षित स्थान र उच्च स्थलको जानकारी राख्दै जोखिम देखिए सुरक्षित स्थानमा सर्न भनिएको छ । नदी किनारामा बस्ने बासिन्दाले सतर्कताका साथ आवश्यक कदम चाल्न आग्रह गरिएको । धान तथा अन्य बाली काटिएको भए तत्काल भित्र्याउन र काट्न बाकी धान १५ गते पछि मात्र काट्न मौसम विज्ञहरुको सुझाव छ ।


प्रदेश तथा स्थानीय प्रशासनले आवश्यकतानुसार सवारी आवागमन नियन्त्रण गर्ने र सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवाला संस्थाहरू सतर्कताका लागि तयारी अवस्थामा रहन सूचनामा भनिएको छ । नागरिकहरूले पूर्वतयारी र प्रतिकार्यमा सहयोगका लागि स्थानीय विपद् व्यवस्थापन समितिसँग सम्पर्कमा रहन आग्रह गरिएको छ ।