कृष्ण थपलिया/सर्लाही
कात्तिक–११ गते । उपेन्द्र साह कानु अहिले ६० वर्षका भए । उनी सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाका स्थायी बासिन्दा हुन् । पेशाले किसान उपेन्द्र साहको आफ्नो नाममा जग्गा छैन, तर खेती उनका लागि जीवनजस्तै हो । आफ्नै जग्गा नभए पनि उनले मूर्तियामा ३ बिगाहा खेत अदिया (बटैया)मा लिएर वर्षौँदेखि वर्णशंकर जात (हाइब्रिड) मकै खेती गर्दै आएका छन् ।
तर पछिल्ला वर्षहरूमा उनलाई खेतीकोभन्दा पनि मजदुरको अभावले बढी चिन्तित बनाएको छ । “अब त उमेर भयो, तर खेती गर्न छोड्न सकिँदैन,” उनले भने, “तर गाउँमा युवा छैनन् । साना केटाकेटी विद्यालय जान्छन्, ठूला भएपछि अमेरिका, जापान, साउदी वा कतारतिर जान्छन् । गाउँमा हामीजस्ता बुढाबुढी मात्रै बाँकी छौं, खेती गर्न र उठाउनै कठिन भइसक्यो ।”


उपेन्द्रका अनुसार अहिले गाउँमा खेत जोत्न, रोपाइँ र भित्र्याउन मजदुर जिल्लाकै धनकौल, गडैता, सिशौटिया जस्ता दक्षिण–पश्चिमका गाउँहरूबाट आउँछन् । ती मजदुरलाई दिनको दुई–तीन छाक खानासहित ७०० देखि ११०० रुपैयाँसम्म तिर्नु पर्छ । “त्यति मजदुरी दिएपछि खेतीबाट केही जोड्ने सम्भावना नै रहँदैन,” उनले दुःख व्यक्त गरे । उनका विचारमा युवा पलायनले खेतीको स्वरूप नै बदलिएको छ ।
त्यसैले अहिले उनी आधुनिक प्रविधिको प्रयोगमा जाने सोचमा छन् । मंगलवार लालबन्दी बजारस्थित दिपेन्द्र एग्रोभेटमा भेटिएका उनले भने, “अब यो सिजनदेखि मकै रोप्ने मेसिन प्रयोग गर्छु ।” गाउँमा छिमेकी किसानले एउटै मेसिन प्रयोग गरेर एकैदिनमा १५–२० कट्ठा खेतमा मकै रोपेको देखेपछि उनी त्यस्तै मेसिन किन्न मूर्तियाबाट लालबन्दी आएका हुन् ।
उनका अनुसार १ बिगाहा मकै रोप्न झण्डै ५ हजार रुपैयाँ खर्च हुन्छ । त्यस हिसाबले बटैयामा लिएको ३ बिगाहा खेतमा रोपाइँ गर्न १५ हजारभन्दा बढी खर्च पर्छ । तर ११ हजार ५०० रुपैयाँमा मकै रोप्ने मेसिन किन्ने हो भने त्यसले लामो समयसम्म काम गर्छ र खर्च घट्छ । “यो त सस्तो प¥यो, रोपिसकेपछि अरूको खेतमा पनि घण्टामा १०० रुपैयाँ लिएर काम गर्न सकिन्छ,” उनले हाँस्दै भने ।


मकै खेती महँगो बन्दै गएकोमा उनले सरकारको नीति र बजार व्यवस्थालाई दोष दिए । अहिले मकैको बीउ प्रति किलो ९०० रुपैयाँमा पर्छ, तर बेच्दा २७ देखि ३५ रुपैयाँ मात्र पाउने अवस्था छ । “सरकारले यसतर्फ ध्यान दिँदैन,” उनले गुनासो गरे । “नेपालमै बीउ उत्पादन गर्न सके किसानलाई राहत मिल्थ्यो ।” अनुदानमा पाइने मलखादमा समेत कालोबजारी हुने गरेको उनको आरोप छ । सरकारले सहकारीमार्फत ९०० रुपैयाँमा युरिया दिने भनिए पनि उनीहरूलाई १२०० देखि १५०० रुपैयाँसम्म लिनेगरेको उनी बताउँछन् । “यो त ठगि हैन र ,” उनले भने ।
उपेन्द्रका अनुसार मकै खेती गर्न प्रति कट्ठा १० किलो युरिया, ५ किलो डिएपी, २ किलो पोटासा र करिब सवा किलो बीउ आवश्यक पर्छ । गोडमेल, सिँचाइ र भण्डारणसम्म ल्याउँदा अहिलेको अवस्थामा खर्च कटाएर नाफा निकाल्न गाह्रो भएकोले, धेरै किसान मजदुरको खर्च घटाउने उपाय खोजिरहेका छन् । उनी भन्छन्, “गोडमेलका लागि मैले स्थानीय लेथमा उपकरण बनाएको छु । यसरी प्रविधिको प्रयोग गरेर खर्च घटाउन सकिन्छ ।”


दिपेन्द्र एग्रोभेटका सञ्चालक दिपेन्द्र भण्डारीका अनुसार पछिल्लो समय सर्लाहीमा आधुनिक कृषि उपकरणप्रति किसानको आकर्षण बढेको छ । “मकै रोप्ने सिजन सुरु भएदेखि अहिलेसम्म चारवटा मेसिन बिक्री भइसकेका छन्,” उनले भने । “गाउँमा मजदुर पाउन कठिन भएकाले किसानहरूले धान, मकै रोप्नदेखि गोडमेल र अन्न भित्र्याउनेसम्मका काममा मेसिन प्रयोग गर्न थालेका छन् ।”
दशैं,तिहार र छठजस्ता चाडपर्व सकिएसँगै अहिले सर्लाहीका किसानहरू धान भित्र्याउने, मकै, उखु, तोरी र तरकारी रोप्न व्यस्त छन् । तर यिनै व्यस्तताबीच उपेन्द्र साह कानुजस्ता किसानका लागि आधुनिक प्रविधि अब केवल आवश्यकता मात्र नभई, नयाँ आशाको किरण बनेको छ । आब फेरि गाउँका बाँझा खेतहरुलाई हरियाली बनाउने सम्भावना बढाएको छ ।