
चन्द्रनगर,कात्तिक—१० गते । चन्द्रनगर गाउँपालिकाले आइतवार छठ महापर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोद्वारा जारी सूचनामा भनिएको छ,“व्रतालुहरूले उक्त दिन निर्जल र निराहार उपवास बस्ने र छठ पर्वका लागि आवश्यक सामग्री खरिद, तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यालयले बिदा दिने निर्णय गरेको हो”।

संघीय सरकारले कार्तिक १० गते (सोमवार) र मधेश प्रदेश सरकारले कार्तिक ११ गते (मंगलवार) सार्वजनिक बिदा घोषणा गरिसकेका छन् । छठ महापर्व चार दिनसम्म निरन्तर चल्ने महत्वपूर्ण धार्मिक पर्व भएकाले कार्तिक ९ गतेको ‘खरना’का दिन समेत बिदा दिन आवश्यक ठानेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा सम्बन्धित सरोकारवाला निकायहरूलाई निर्णयको जानकारी गराइएको उल्लेख गर्दै छठ महापर्वमा सहभागी सबैलाई शुभकामना समेत व्यक्त गरिएको छ ।










