मलंगवा,कात्तिक—९ गते । नेपालमा मधेशी समुदायको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको छठ पर्वमा देखिएको बिदा सम्बन्धी असमानता हटाउन माग गर्दै आईतवार सर्लाहीका विभिन्न समुहका अगुवाहरुले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
मलंगवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले यस वर्ष पनि छठ पर्वका लागि केवल एक दिन मात्र बिदा दिएको भन्दै आपत्ति प्रकट गरिएको छ । मधेशी समुदायका नागरिक, विद्यार्थी, शिक्षक र कर्मचारीको तर्फबाट बुझाइएको उक्त ज्ञापनपत्रमा छठ पर्वका तीन प्रमुख दिन खरना, संध्या अघ्र्य र बिहानी अघ्र्यमा पूर्ण बिदा घोषणा गर्न माग गरिएको छ ।


ज्ञापनपत्रमा भनिएको छ, “छठ पर्व चार दिनसम्म चल्ने धार्मिक अनुष्ठान हो। यसमा दोस्रो, तेस्रो र चौथो दिनका पूजा अत्यन्तै महत्वपूर्ण हुन्छन्। केवल एक दिने बिदा पर्याप्त छैन, जसका कारण मधेशी समुदायका कर्मचारी र विद्यार्थीहरू आफ्नो घर फर्केर धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदैनन् ।”
ज्ञापनपत्रमा विद्यार्थीहरूको परीक्षा तालिका पुनःनिर्धारण गरी उनीहरूलाई पर्व मनाउने अवसर दिनुकासाथै मधेशी समुदायको धार्मिक आस्था, सांस्कृतिक परम्परा र पहिचानको सम्मान गर्दै बिदा नीतिलाई व्यवहारिक रूपमा लागू गर्न आग्रह गरिएको छ। साथै, भविष्यमा छठ पर्वलाई राष्ट्रिये पर्वको रूपमा मान्यता दिन पनि माग गरिएको छ ।


उक्त ज्ञापनपत्रमा मधेशी समुदायका तर्फबाट रविराज साह, विद्यार्थी समूहका तर्फबाट विसाल कुमार राउत, कर्मचारीको तर्फबाट गजेन्द्र नारायण महतो र शिक्षक समुदायका तर्फबाट सञ्जय कुमार मुखियाले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्रको प्रतिलिपि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनकपुरधाम, गृह मन्त्रालय काठमाडौं र सबै स्थानीय तहहरूमा पठाइएको छ । सिडीओलाई बुझाइएको ज्ञापनपत्र भनिएको छ , “छठ हाम्रो आस्था मात्र होइन, हाम्रो पहिचान र गर्वको प्रतीक हो । यसको सम्मान गर्नु सरकारको कर्तव्य र हाम्रो अधिकार हो।”