
कार्तिक,५ गते । कार्तिक शुक्ल प्रतिपदाका आज तिहार अन्तगर्त गाई, गोरु र कृषकको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र मानिने भएकाले गौमाता रूपमा पूजा गरिन्छ। गाईको दूध, गहुँत र गोबरलाई पौष्टिक तथा ऊर्जा दिने मानिँदा यसको वैज्ञानिक महत्त्व पनि रहेको छ।

धार्मिक विश्वास अनुसार आज गाईलाई पूजा गरी मीठो खानेकुरा खान दिइएमा शुद्धता प्राप्त हुन्छ। साथै, साउन शुक्ल पूर्णिमामा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिए मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराइ स्वर्ग पुर्याउने जनविश्वास छ।
आज गोरु र किसानको पनि पूजा गरिन्छ, जसलाई (हली तिहार) भनिन्छ। गोरु महादेवको वाहन साँढेको रूपमा पूजनीय छन्। कृषकलार्इ सेवा र योगदान गरेकाे मानी मिष्ठान्न खुवाएर सम्मान गरिन्छ।

यसै दिन (गोवर्धन पूजा) पनि गरिन्छ, जहाँ गाईको गोबरबाट बनाइएको गोवर्धन पर्वतको प्रतीक पूजा गरिन्छ। यो परम्परा द्वापर युगमा भगवान श्रीकृष्णले गोवर्धन पर्वत उठाई गोकुलवासीलाई बचाएको स्मृतिमा सुरु भएको हो।
नेवार समुदायमा आजको दिन म्हः (आत्म) पूजा गरी आत्मालाई सन्तुष्ट पार्ने चलन छ। आत्मा नै सबैभन्दा ठूलो शक्तिको रूपमा सम्मान गरिँदा देवीदेवतासमेत प्रसन्न हुने विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।यो पर्व काठमाडौं उपत्यकासहित नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानहरूमा उल्लासपूर्वक मनाइँदैछ।










