हरिवन, असोज— ३१ गते।
मधेश प्रदेशका प्रमुख चिनी उद्योगहरूले अबदेखि कमसल जातका उखु खरिद नगर्ने निर्णय गरेका छन् । उद्योगहरूको संयुक्त निर्णयअनुसार आगामी आर्थिक वर्ष २०८३÷८४ देखि रिजेक्टेड जातको सूचीमा सूचीकृत उखु नकिन्ने घोषणा गरेका हुन ।
मधेश प्रदेशमा रहेका इन्दुशंकर चिनी उद्योग लिमिटेड, रिलायन्स सुगर, बाबा बैजुनाथ सुगर, एभरेष्ट सुगर, महालक्ष्मी सुगर, अन्नपूर्ण सुगर र हिमालय सुगर मिल्सले संयुक्त सूचना जारी गर्दै किसानहरूलाई गुणस्तरीय र सिफारिस गरिएका जातको उखु खेती गर्न आह्वान गरेका छन् । उनीहरूले विगतमा पटक–पटक जानकारी गराउँदा पनि किसानहरू अझैसम्म कमसल जातको उखु खेती गरिरहेकामा चिन्ता व्यक्त गरेका छन् ।


संयुक्त सूचनामा उल्लेख गरिएअनुसार कस ९२०६, कस ८८२१६, कस ०२३५, कस ५१२६५ (शेरेपंजाव), विओ ९१, कोप २०६१, विओ १४७, विओ १३५, विओ १४१, विओ १५०, विओ ११०, कोसे ५२४२३, कोसे ५२२७०, को ०२३३, कोप ५३०२, कोप ७२५० र कल्क ८१०२ जातका उखुहरूलाई कमसल वा रिजेक्टेड घोषित गरिएको छ। यी जातको औसत रिकभरी दर ६–७ प्रतिशत मात्र हुने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र छिमेकी बालीमा रोग सर्ने सम्भावना उच्च हुने जनाइएको छ ।
उद्योगहरूले उखुको गुणस्तर बढेमा मात्र किसान र उद्योग दुवै लाभान्वित हुने स्पष्ट पार्दै सिफारिस गरिएका उन्नत जातको खेतीमा ध्यान दिन आग्रह गरेका छन् । अपलैण्ड अर्थात उच्च जमीनका लागि को ०११८, कल्क १६२०२, कस १७२३१, सिओ ०२३८, कस १३२३५, को १५०२३, कल्क १४२०१, सि.ओ.जे ८५, कस ८८२३० र कोसे ९८२३१ लगायतका जात सिफारिस गरिएको छ । त्यस्तै लोलैण्ड अर्थात होचो जमीनका लागि कल्क ५४१८४, कोप ९३०१, को ९८०१४ र यूपी ०५१२५ जातलाई उपयुक्त मानिएको छ ।


उखु बालीको गुणस्तर सुधारका लागि ट्राईकोडर्मा, टी.पी.एम. र कोराजीन जस्ता जैविक तथा रासायनिक तत्वको प्रयोगलाई पनि अनिवार्य बनाइएको छ। उद्योगहरूले सिफारिस गरिएका जातका बीउ पर्याप्त मात्रामा उपलब्ध रहेको जानकारी दिँदै किसानलाई आवश्यक परे उद्योगसँग प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरिएको छ ।
यसैबीच हरिवन नगरपालिकाले पनि हिजो (शुक्रवार) सूचना जारी गर्दै किसानहरूलाई कमसल जातको उखु नलगाउन सचेत गराएको छ। नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत हेमराज फुयालद्वारा जारी सूचनामा उद्योगहरूले यस्ता जात खरिद नगर्ने निर्णय गरिसकेको उल्लेख गर्दै किसानहरूले कुनै भ्रम नराखी उन्नत जाततर्फ ध्यान दिन आवश्यक रहेको जनाइएको छ ।