
मलंगवा, असोज—३१ गते ।
नेपाल र भारतबीच सीमास्तरको समन्वय र सुरक्षालाई मजबुत बनाउन आयोजित संयुक्त सीमा समन्वय समितिको भर्चुअल बैठक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा शुक्रवार सम्पन्न बैठकमा नेपालका सर्लाही, रौतहट र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा भारतको विहार राज्य अन्तर्गत सितामढी जिल्लाका प्रशासनिक अधिकारीहरू सहभागी थिए ।

त्यस्तै बैठकमा दुवै देशका प्रशासन प्रमुखहरू, सुरक्षा निकाय, भन्सार र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूले भाग लिएका थिए । भारतमा सन् २०२५ मा हुने विधानसभा निर्वाचनको सन्दर्भमा सीमा व्यवस्थापन र निर्वाचन अवधिभर सुरक्षा संवेदनशीलता कायम गर्न विशेष छलफल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेललेद्वार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा निर्वाचन अवधिमा सीमा बन्द गर्ने, सीमापार अपराध नियन्त्रण, मदिरा, लागूपदार्थ तथा अन्तर्राष्ट्रिय मुद्राको तस्करी नियन्त्रण, मानव तस्करी रोकथाम, सीमा स्तम्भ मर्मत तथा सूचनाको द्रुत आदानप्रदान प्रणालीलाई सुदृढ बनाउने विषयमा संयुक्त कार्ययोजना बनाउन सहमति भएको छ ।

नेपालतर्फबाट सहभागी प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि साझा सहकार्य गर्न प्रतिबद्धता जनाएका छन् । साथै दुवै पक्षबीच संयुक्त गस्ती, सूचनाको साझा संयन्त्र निर्माण र स्थानीय तहबीचको प्रत्यक्ष सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सहमति गरिएको छ । बैठक पछि दुवै पक्षले आगामी दिनमा सीमा सुरक्षा, संवेदनशीलता र समन्वयमा आधारित कार्यान्वयनमार्फत आपसी विश्वास र सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको उल्लेख छ ।









