
लालबन्दी, असोज—२२ गते । सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतको नगर अस्पतालले सुरक्षित मातृत्व सेवाको क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेको छ । अस्पतालमा सञ्चालित आकस्मिक प्रसुति सेवा कार्यक्रमअन्तर्गत १८ महिनाको अवधिमा ५०० सिजेरियन शल्यक्रिया तथा २ हजारभन्दा बढीले सामान्य प्रसुति सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।

यस अवसरमा अस्पताल परिसरमा विशेष बुधवार सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नगर प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, अस्पताल व्यवस्थापन समितिका सदस्य, स्वास्थ्य शाखाका प्रतिनिधि र सम्पूर्ण अस्पताल टोलीको उपस्थिति रहेको थियो । कार्यक्रममा सिजेरियन शल्यक्रियामा संलग्न चिकित्सक, नर्स, एनेस्थेसिया सहायक, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत सम्पूर्ण कर्मचारीलाई सम्मानपत्र र खादाद्वारा सम्मान गरियो।

कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चन्दन चौधरीले अस्पतालले सीमित स्रोत र साधनका बाबजुद सुरक्षित मातृत्व सेवा उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । उनले सिजेरियन शल्यक्रिया सेवा सुरु भएको १८ महिनामै ५०० महिला सुरक्षित रूपमा सुत्केरी गराउन सफल हुनु गौरवको विषय भएको बताए । डाक्टर चन्दन चौधरी उक्त सेवा सञ्चालनमा खटिएका डाक्टर रामविश्वा, ओटी नर्स, एनेस्थेसिया सहायक, नर्सिङ प्रमुख, नर्सहरू, सरसफाई कर्मचारी र प्रशासनिक पक्षको भूमिकाको समेत उच्च प्रशंस गरेका थिए । “यस अवसरमा म डा. राम बिश्वास राय र उहाँको ऋभ्इल्ऋ टिमलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु” । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चन्दन चौधरीले भने ।

नगर अस्पतालले आकस्मिक प्रसुति सेवा सुरु गरेपछि लालबन्दी नगरसहित छिमेकी पालिकाका गर्भवती महिलाहरूको लागि सुरक्षित सुत्केरी सेवा प्रदान गर्दै आएको छ । सेवा विस्तारसँगै अस्पतालमा आउने सेवाग्राहीको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ ।









