मलंगवा, असोज— २१ गते । सर्लाहीको मलंगवा नगरपालिका–५, भाडसरमा लखन्देही खोलामा नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मंगलवार भएको उक्त घटनामा अन्य तीन जना भने सकुशल जोगिन सफल भएका छन् ।


स्थानीय विनोद ठाकुरका १८ वर्षीय छोरा ओम ठाकुर आफ्ना तीन साथीहरूसँग खोलाको बाँध नजिक नुहाउन गएका थिए।नुहाउने क्रममा खोलाको बहाव एक्कासी बढेपछि ओम ठाकुर बगेर बेपत्ता भएका थिए। अन्य तीन युवक भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन्।


खोलाले बगाएका ओम ठाकुरको खोजीमा स्थानीय बासिन्दा र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। झन्डै दुई घण्टापछि उनको शव फेला पारिएको हो। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले चियोचर्चो दैनिकलाई जानकारी दिए ।


उनका अनुसार सर्लाहीकै पर्सा गाउँपालिका–१ स्थित हर्दी खोलामा सोमवार फेलापरेको बेवारिसे शवको अझै सनाखत हुन सकेको छैन । अन्दाजी ३० — ३५ वर्ष उमेर जस्तो देखिने महिलाको शवलाई प्रादेशिक अस्पताल मलंवामा राखिएको भए निनि अहिलेसम्म पहिचान खुल्न नसकेको हो ।