मलंगवा, असोज—३ गते । राज्यद्रोहको मुद्दामा कारवाही अघि बढाएको सर्लाही प्रहरीले जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादवलाई शुक्रवार हिरासतबाट छाडेको छ । उनलाई प्रहरीले एक साताअघि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो ।
बिहिवार राति यादवको आमाको कविलासी नगरपालिका सलेमपुरस्थित निवासमा निधन भएको थियो । आमाको निधनपछि हिन्दु परम्परा अनुसार आमाको १३ दिनको काजकिरिया गरि पुन: हाजिर हुने प्रतिवद्धता जनाए पछि यादवलाई छाडिएको सर्लाही प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी सरोज राईले चियोचर्चो दैनिकलाई जानकारी दिए । उनका अनुसार यादवलाई शुक्रवार बिहान हिरासतबाट छाडिएको हो । “रीतिरिवाज अनुसार हिरासतमा रहेका व्यक्ति आफै क्रियाकर्ममा बस्नु पर्ने भए सो अवधिको लागि छाड्न मिल्ने कानुनी प्रावधान अनुसार उनलाई छाडिएको हो,”डिएसपी राईले भने,।


गत असार १९ गते राति एसपी खड्का र यादवबीच अमर्यादित सम्वादसहित गालिगलौचको टेलिफोन संवाद सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । त्यस लगतै प्रहरीले यादवको सलेमपुरस्थित घरमा छापा मार्दा यादव समुहले आक्रमण गरि जिल्ला प्रहरी कार्यालयको गाडीमा तोडफोड गर्दा केही सुरक्षाकर्मी समेत घाइते भएका थिए ।
उक्त घटना पछि फरार रहेका यादव गत भदौ २५ गते जेन–जी आन्दोलनका क्रममा सदरमुकाम मलंगवाको प्रदर्शनमा सहभागि भएका थिए । जेन–जी आन्दोलनका नाममा यादव आफैले नेतृत्व गरेर अराजकता मच्चाउने प्रयास गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


यादवलाइ पक्राउ गरिएको विरोधमा जसपाका नेताकार्यकर्ताले सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका थिए । उनिहरुले वंशल पेट्रोल पम्प छेउको प्रहरी बीटमा तोडफोडसहित आगजनी गरे पछि आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलहरु समेत जलाइदिएका थिए ।