मनाेज यादव / मलंगवा असोज -३ गते । संविधान दिवस २०८२ को अवसर पारेर लक्ष्मी ब्लड कनेक्ट्स, सर्लाहीले मलंगवामा रक्तदान तथा नि:शुल्क रक्तसमूह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
प्रादेशिक अस्पताल मलंगवाको सहयोगमा शुक्रवार मलंगवा स्थित बालमन्दिर चौकमा सम्पन्न आयोजना गरिएको शिविरमा ४९ जना पुरुष र ३ जना महिला गरि जम्मा ५२ जनाले रक्तदान गरेका थिए भने ५६ जनाले निःशुल्क रक्तसमूह परीक्षण गराएका थिए।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष कृष्ण कुमार राउतको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेको थियो । साथै, विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी प्रमुख देव बहादुर चन्द, कालीध्वज गणका गणपति, मलंगवा वडा न-९ का वडाअध्यक्ष चन्देश्वर राय र प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. संजीव कुमार सिंहको उपस्थिति रहेको थियो।


यस्तै, अतिथिका रूपमा पहिचान नेपाल सर्लाहीका प्रमुख अब्दुल सहमद मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष राउतका अनुसार, लक्ष्मी ब्लड कनेक्ट्सले आफ्नो स्थापना कालदेखि नै विभिन्न स्थानीय तह,गैरसरकारी, अन्तराष्ट्रिय गैरसरकारी र सरकारी निकायसँग सहकार्य गर्दै सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनका अनुसार संस्थाको आगामी दिनमा पनि यसैगरी निःशुल्क स्वास्थ्य शिविरहरु, सामाजिक विसंगति विरुद्धका अभियान, वातावरण संरक्षण लगायतका गतिविधिलाई निरन्तरता दिने योजना रहेको छ।


आयोजकले कार्यक्रम सफल पार्न योगदान पुर्‍याउने सबै रक्तदाताहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
यस किसिमका कार्यक्रमहरूले संविधान दिवसलाई मात्र अर्थपूर्ण बनाएको छैन, बरु समाजमा स्वास्थ्य सचेतना, मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण पनि प्रस्तुत गरेको प्रजिअ श्रेष्ठले बताए ।