कृष्ण थपलिया /सर्लाही
असोज—३ गते । सर्लाही भन्सार कार्यालय मलंगवाले चालु आर्थिक वर्षको दुई महिनामा ४ करोड ७३ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई ९ करोड ११ लाख ४४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा यो अवधिमा लक्ष्यको ५४.१४ % प्रतिशत राजस्व संकलन भएको हो ।
सर्लाही भन्सार कार्यालय मलंगवाका सूचना अभिकारी धर्मेन्द्र प्रसाद महतोका अनुसार राजश्व संकलनमा कमी आउनुको मुख्य कारणहरुमा आलु प्याजको पैठारीमा रहेको अग्रिम आयकर श्रावण १ गतेबाट हटाइनु, विश्व आर्थिक मन्दी तथा पछिल्लो राजतीनिक घटनाक्रमले वजारमा पारेको नकारात्मक प्रभाव रहेका छन् । उनका अनुसार पैठारीमा आधारित भन्सार रहेकाले पनि मालबस्तुको आयातमा कमी आएकाले राजश्व संकलन घटेको हो ।
‘सर्लाही भन्सार कार्यालयले साउन महिनामा राजस्व लक्ष्यको ६०.४४ प्रतिशत अर्थात २ करोड ६८ लाख २२ हजार मात्र राजश्व संगल गरेको छ । भन्सार विभागले चालु आवको साउन महिनासम्म कार्यालयलाई ४ करोड ४३ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
त्यस्तै भदौ महिनामा कार्यालयले मासिक लक्ष्यको आधा भन्दा कम अर्थात ४८.१६ प्रतिशत मात्र राजश्व संकलन भएको जनाएको छ । भन्सार विभागले चालु आवको भदौ महिनामा मलंगवा भन्सार कार्यालयलाई ४ करोड ६७ लाख ६८ हजार राजस्व सङ्कलनका लागि लक्ष्य निर्धारण गरेको थियो । यो अवधिमा कार्यालयले कुल २ करोड २५ लाख २३ हजार मात्र राजस्व संकलन गर्न सकेको देखिन्छ ।