सर्लाही, असोज- २ गते । सर्लाहीको लालबन्दीमा लैङ्गिक संवेदनशीलता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी ५ मा रहेको मातृभूमि विकास नेपाल नामक संस्थाले लालबन्दी ७ स्थित जानकी माविमा अध्ययनरत किशोर किशोरीहरुलाई यसवारे अभिमुखिकरण गरेको हो ।


महिला तथा बालबालिकामाथि हुने सबैखाले हिंसा विरुद्ध काम गरिरहेको टेवा धापाखेलको आर्थिक सहयोग तथा जानकी मावि लालबन्दीको समन्वयमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा जानकी माविको कक्षा १० मा अध्ययनरत ५० जना किशोरकिशोरीहरुको सहभागिता रहेको सामुदायिक सुरक्षा जालोकी सहजकर्ता सविता सुवेदीले जानकारी दिईन् ।


अभिमुखिकरण कार्यक्रममा लालबन्दी नगरपालिका महिला तथा बालबालिका शाखाकी निरीक्षक दुर्गा आचार्य खरेलले प्रशिक्षण दिएकी थिईन् ।
सो क्रममा महिलामाथि हुने हिंसा र विभेदको अवस्था, हिंसा हुने कारणहरु, हिंसा विरुद्धको कानून कार्यान्वयनको अवस्था लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो। त्यस्तै ओसिएमसीको विषयमा पनि प्रशिक्षक आचार्यले सहभागिहरुलाई जानकारी गराएकी थिईन् ।
अभिमुखिकरण कार्यक्रमवारे जानकारी दिँदै मातृभूमि विकास नेपालले सामुदायिक सुरक्षा जालो मार्फत महिला हिंसा विरुद्ध काम गरिरहेको संस्थाकी अध्यक्ष सुनिता तिमल्सिनाले बताईन् । उनले सोही अभियान अन्तरगत विद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुलाई पनि लैङ्गिक हिंसावारे जानकारी दिन अभिमुखिकरण कार्यक्रम राखिएको बताईन् ।


अभिमुखिकरण कार्यक्रममा जानकी मावि लालबन्दीका प्रधानाध्यापक हिरालाल महतोले लैङ्गिक संवेदनशीलता सम्बन्धी विद्यार्थीहरुलाई पनि सचेतना आवश्यक भएको बताए ।
उनले जानकी माविमा कार्यक्रम आयोजना गरेको प्रति टेवा र मातृभूमि विकास नेपाललाई धन्यवाद दिए । उनले चेतनाको अभिवृद्धिले मात्रै महिलामाथि हुने सबैखाले हिंसा अन्त्य गर्न सकिने बताए ।
मातृभूमि विकास नेपालले सर्लाहीमा विगत तीन वर्षदेखि सामुदायिक सुरक्षा जालो मार्फत महिला हिंसा विरुद्ध काम गरिरहेको छ ।