सर्लाही, भदौ– ३१ गते । नख्खु कारागार, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी बन्दी फिरोज मन्सुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिई मंगलवार कारागार कार्यालय सर्लाही पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी (डिएसपी) सरोज राईका अनुसार जेन्जी आन्दोलनको मौका छोपी भागेका कैदी बन्दी जुन जिल्लामा पक्रउ पर्छन त्यही जिल्लामा रहेको कारागार कार्यालय पठाउँने केन्द्रीय कारागार बिभागको परिपत्र अनुसार फिरोजलाई कारागार कार्यालय मलंगवा पठाइएको हो ।


मलंगवा नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय मन्सुर नख्खु कारागारको नयाँ ब्लकमा कर्तव्य ज्यान अभियोगमा कैद भुक्तान गरिरहेका थिए । भदौ २५ गते जेन्जी आन्दोलनको मौका छोपी उनी कारागारबाट भाग्न सफल भएका थिए।
गोप्य सूचनाका आधारमा मन्सुर आफ्नो घरमा लुकीछिपी बसिरहेको जानकारी पाएपछि सोमवार साँझ करिब ६ः३० बजेको समयमा प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।


मन्सुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखि मंगलवार कारागार कार्यालय मलंगवा पाठाइएको हो । प्रहरीका अनुसार, आन्दोलनका क्रममा भागेका कैदी बन्दीको खोजी तीव्र पारिएको छ ।