
मलंगवा, भदौ—३१ गते ।
विश्वकर्मा पूजाको अवसरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक सूचना जारी गर्दै पर्वलाई मर्यादित र संयमित तरिकाले मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्वारा जारी सूचनामा पछिल्लो समय जिल्लामा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै चाडपर्वको नाममा सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, चर्को आवाजमा डीजे वा बाजा बजाउने, आर्केस्ट्रा नचाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायतका अवाञ्छित गतिविधिहरू नगर्न आग्रह गरिएको छ ।

कानुन विपरीत यस्ता क्रियाकलाप गरेको वा गराएको पाइएमा प्रशासनले सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ । साथै सार्वजनिक वा निजी सम्पत्तिमा कुनै क्षति पुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी आयोजक पक्षले लिनुपर्ने प्रशासनले चेतावनी दिएको छ ।

सर्लाहीमा विश्वकर्मा पूजाको अवसरमा विगत वर्षहरुमा हिन्दुर मुस्लिम समुदायबीच मूर्ति जिसर्जको विषयलाई लिएर झडपका घट्ना हुने गरेका थिए । घट्नालाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय सर्लाहीले यस्तो सूचना जारी गरेको हुन सक्ने अनुमान छ ।










