
ईश्वरपुर, भदौ— २९ गते ।ईश्वरपुर नगरपालिकाले जेन जी समूहद्वारा गरिएको प्रदर्शनका क्रममा लुटपाट भएको नगरपालिकाले सार्वजनिक सम्पती तीन दिनभित्र फिर्ता गर्न चेतावनी दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत डा. पंकज कुमार साहद्वारा हस्ताक्षरित सूचनामा २०७९ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगर कार्यपालिकाले शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरिएको छ ।

भदौ २४ गते प्रदर्शन उग्र बन्दै जाँदा नगर कार्यालयमा आगजनी गरी महत्त्वपूर्ण कागजातसहित ल्यापटप, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फर्निचरलगायत सामग्री लुटिएको जनाउदै तीन दिनभित्र फिर्ता गर्न चेतावनी दिइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार घटनाका तस्वीर, भिडियो, र संलग्न व्यक्तिहरूको नामावलीसमे फेला पर्न थालेकाले सम्बन्धित निकायहरू नेपाली सेना, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतले अनुसन्धान अघि बढाइरहेका छन्।

सूचनामा भनिएको छ, “उक्त चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरूले सचेत नागरिकको परिचय दिँदै तीन दिनभित्र आफैं सामग्री फिर्ता गरेमा कानुनी सजायमा सहजता हुन सक्छ, अन्यथा कडा कानुनी कारबाही हुनेछ।”नगरपालिकाले फेला परेका सबै प्रमाणहरू अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइरहेको नगरपालिकाद्वारा जानकारी सूचनामा भनिएको छ ।










