सर्लाही, भदौ —२९ गते ।
जिल्लामा पछिल्ला राजनीतिक घटनाक्रमका कारण अवरुद्ध भएका सार्वजनिक सेवा तथा कार्यालय आइतवार (आज) देखि पुनः सुरु गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय मलंगवाले शनिवार एक सूचना जारी गर्दै जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूलाई सेवा प्रवाह सुचारु गर्न निर्देशन दिएको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलद्वारा हस्ताक्षरित सूचनामा सबै सरकारी कर्मचारीहरूलाई आफ्ना–आफ्ना कार्यस्थलमा उपस्थित भई नियमित सेवा सञ्चालन गर्न आग्रह गरिएको छ । सूचनामा भनिएको छ, “पछिल्लो असहज परिस्थितिको क्रममा जिल्ला भरी सार्वजनिक सेवाहरु अवरुद्ध भएकोमा भदौ २९ गते आइतवारबाट सम्पूर्ण कर्मचारीहरु आ–आफ्नो कार्यालयमा उपस्थित भई सेवा सूचारु गर्नु हुन जानकारी गराइन्छ।”


जिल्लाभित्र जेन–जी आन्दोलनको क्रममा केही स्थानीय तहमा तोडफोड र आगजनीका घटनाहरूले सरकारी संरचनामा क्षति पुर्याएको थियो। त्यसका कारण प्रशासनिक कार्य ठप्प भएका थिए । तर, अवस्था क्रमशः सामान्य हुँदै गएसँगै सेवाहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो ।


जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा प्रभावित नहोस् भन्नका लागि वैकल्पिक व्यवस्था पनि मिलाउने तयारी गरेको छ । आइतवारदेखि बजार,कार्यालय तथा अन्य सार्वजनिक सेवा केन्द्रहरू नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।