सर्लाही, भदौ -२४ गते ।  जिल्लाका तीनवटा नगरपालिका क्षेत्रहरू मलंगवा, बरहथवा र लालबन्दीमा स्थानीय प्रशासनले  कर्फ्यू आदेश जारी गरेको छ।
जेनजी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि, सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, ढुङ्गामुढा र उच्छृङ्खल गतिविधि भएको भन्दै , शान्ति सुरक्षा संकटमा पर्न सक्ने जोखिमका कारण कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जनाएको छ।


प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आज २०८२ साल भदौ २४ गते दिउँसोदेखि लागू हुने गरी अर्को आदेश नआएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो।


मलंगवा नगरपालिका क्षेत्रमा :
दिउँसो १:०० बजेदेखि लागू भएको कर्फ्यू आदेश अनुसार, मलंगवा नगरभित्र तोकिएको क्षेत्रमा मानिसहरूलाई घर बाहिर निस्कन, आवतजावत गर्न, भेला हुन तथा कुनै पनि प्रकारको प्रदर्शन वा हिंसात्मक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।
मलंगवामा कर्फ्यू लागू गरिएको क्षेत्र:
पूर्व: टावर चोक
पश्चिम: खानेपानी चोक
दक्षिण: नगरपालिका चोक
उत्तर: स्तुती सौम्य क्लिनिक, मलंगवा न.पा. १० क्षेत्र रहेका छन् ।


बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश र जारी क्षेत्र :
बरहथवा क्षेत्रमा दिउँसो २:०० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको छ। प्रदर्शनका क्रममा उत्पन्न असहज परिस्थिति नियन्त्रण गर्न यो निर्णय लिइएको हो।
कर्फ्यू लागू क्षेत्रहरू:
पूर्व: सितापुर
पश्चिम: इलाका प्रहरी कार्यालय, हजरिया
दक्षिण: हिरापुर ब्यारेज, वन डिभिजन कार्यालय
उत्तर: वन डिभिजन कार्यालय क्षेत्र रहेका छन् ।
लालबन्दीमा यश अघिनै कर्फ्यू जारी गरिएको थियो।
लालबन्दी नगरपालिकामा पनि आन्दोलन र हिंसात्मक गतिविधिका कारण प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको जनाएको छ।
कर्फ्यूले प्रतिबन्ध लगाएको क्षेत्रहरूमा :
पूर्व: लालबन्दी फुटबल मैदान
पश्चिम: लखनदेही खोला
दक्षिण: जब्दी खोला/जुटपानी
उत्तर: बाहुनी खोला/श्री जनता उच्च मावि नवलपुर क्षेत्र रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सार्वजनिक सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक परे सुरक्षाकर्मीहरूले बल प्रयोग गरी कानून बमोजिम कारबाही गर्न सक्ने चेतावनी समेत दिएका छन्। कर्फ्यु आदेशमा स्थानीय बासिन्दालाई प्रशासनको आदेशको पालना गरी शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरिएको छ।