लालबन्दी ,भदौ- २४ गते ।सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा जारी आन्दोलन र हिंसात्मक गतिविधिका कारण जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्वारा भदौ २४ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो।
प्रशासनको सूचनामा जनाइएअनुसार, पछिल्ला दिनहरूमा जेनजी प्रदर्शनका क्रममा आगजनी, ढुंगामुढा, उच्छृङ्खल गतिविधि जस्ता कार्यहरूमार्फत सार्वजनिक सम्पत्तिमा क्षति पुगेको र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम देखिएकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू आदेश आवश्यक भएको उल्लेख गरिएको छ।
लालबन्दीमा कर्फ्यू आदेशले प्रतिबन्ध लगाएको क्षेत्रहरू
पूर्व: लालबन्दी फुटबल मैदान,पश्चिम: लखनदेही खोला,दक्षिण: जब्दी खोला/जुटपानी,उत्तर: बाहुनी खोला/श्री जनता उच्च मावि नवलपुर क्षेत्र रहेका छन् ।
कर्फ्यू आदेश अवधिभर कुनै पनि व्यक्ति वा समूहलाई उक्त क्षेत्रभित्र हिँडडुल गर्न, भेला हुन, वा अन्य कुनै प्रकारको गतिविधि गर्न निषेध गरिएको छ। आदेशको उल्लंघन गरेमा सुरक्षाकर्मीहरूले आवश्यक बल प्रयोगसहित कानूनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ।
जिल्ला प्रशासनले नागरिकहरूलाई संयमित रहन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आह्वान गरेको छ। यता, लालबन्दी क्षेत्रको अवस्था तनावपूर्ण भएपनि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जनाइएको छ।










