![]()
सर्लाही,भदौ -२४ गते । जिल्लामा जेन-जी आन्दोलनको क्रममा मंगलवार बिहान सदरमुकाम मलंगवास्थित प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला कार्यालयमा क्षति पुर्याइएको छ।
![]()
जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार मलंगवा नगरपालिका-२ मा रहेको स्व. मनमोहन अधिकारी सामुदायिक भवनमा रहेको नेकपा एमालेको जिल्ला कार्यालयमा तोडफोड हुनुका साथै कार्यालयभित्र रहेका फर्निचरमा आगजनी गरिएको छ।
![]()
यस्तै मलंगवा नगरपालिका-८ मा रहेको नेपाली कांग्रेसको कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ।
आन्दोलनमा सवै राजनीतिक दतका युवा ,दलमा आबद्ध संगठनहरूलेसमेत सकृय सहभागिता जनाएकाे देखिन्छ।सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा यतिखेर प्रदर्शन भैरहेको र शान्ति सुरक्षाको अवस्था नियन्त्रणमा राख्न सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी राईले जानकारी दिए।

यसैबीच, लालबन्दी, हरिवन, बागमती लगायतका क्षेत्रमा प्रदर्शनकारीहरुले टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन्। मुख्य सडकखण्डहरूमध्ये नवलपुर-मलंगवा सडकको गम्हरियामा समेत टायर बालिएको छ। प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ।

जिल्लाभरको अवस्था अशान्त रहेकोले अधिकांश विद्यालयहरु समयअघि नै बन्द गरिएको जनाइएको छ। अध्ययनका लागि पुगेका कतिपय विद्यार्थीहरू विद्यालय कारण घर फर्किएका छन्।
यसअघि सोमवार काठमाडौं, इटहरीलगायत देशका विभिन्न शहरहरूमा भएको जेन-जी आन्दोलनको क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा १९ जना प्रदर्शनकारी युवाको मृत्यु र ३४७ जना घाइते भएका थिए। सो घटनापछि मुलुकभर विभिन्न युवा संगठनहरू प्रदर्शनमा उत्रिएका छन्।
हालसम्म सर्लाहीमा प्रहरीले प्रत्यक्ष हस्तक्षेप गरेको छैन ,युवाहरू गाउँगाउँबाट सहर बजारमा पुगि आन्दोलनमा सहभागी भएका छन् ।









