
काठमाडौं,भदौ—२४ गते । जेनजी आन्दोलनलाई लिएर उत्पन्न संकटपूर्ण स्थितिपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। आन्दोलनका क्रममा राज्य संयन्त्रबाट भएको बल प्रयोग र मानवीय क्षतिको नैतिक जिम्मेवारी लिँदै उनले सोमवारनै पदबाट राजीनामा दिएका हुन ।

लेखकले सोमवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराउँदै, आन्दोलनका क्रममा युवाहरूको ज्यान जानु दुःखद भएको र आफू पदमा बसिरहनु नैतिक रूपमा उचित नहुने जनाउँदै राजीनामा बुझाएका हुन्। देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नगर्न सुझाव दिए पनि लेखकले नैतिकताको आधारमा राजीनामा दिए ।

यसबीच, नेपाली कांग्रेसले गृहमन्त्री पदमा महामन्त्री गगनकुमार थापालाई अघि सार्ने तयारी गरेको छ। उच्च स्रोतका अनुसार मंगलवार नै थापालाई पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको छ।

तर, गगन थापाले केही सशर्त राखेका छन्। विशेषगरी सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय खारेज गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुने वातावरण बन्नुपर्नेजस्ता माग राख्दै उनी सभापति देउवासँग छलफलमा रहेका स्रोतको दाबी छ ।










