सर्लाही, भदौ -१७ गते ।सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लचका नजिकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
सोमवार साँझ करिब ६:३० बजेको समयमा विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ५५ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको हो।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्की र इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा खटिएको टोलीले सडक किनारमा शंकास्पद रूपमा बसिरहेका एक व्यक्तिको खानतलाशी गर्दा उक्त लागूऔषध फेला पारेको हो।


पक्राउ परेका व्यक्ति सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारीबथान बस्ने ३२ वर्षीय संजिव भुजेल रहेका छन्। प्रहरीले उनलाई सोही स्थानमा सेतो रङको तीन वटा प्लास्टिकको बोरामा परालले छोपेर लुकाइ राखिएको अवस्थामा गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ। बरामद लागूऔषधको तौल बोरासहित ५५ किलो २२० ग्राम रहेको छ।


पक्राउ परेका भुजेललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ। सर्लाही जिल्ला अदालतबाट भदौ १७ गते सात दिनको म्याद थप अनुमति पछि उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिएका छन्।


प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूकोसमेत पहिचान तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।