
कृष्ण थपलिया / सर्लाही भदौ -९ गते , भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य टेक बहादुर शाहको सहभागितामा आयोगको जिल्ला समिति, सर्लाहीले साेमवार लालबन्दी, ईश्वरपुर र चन्द्रनगर क्षेत्रमा अनुगमन सम्पन्न गरी जिल्ला कार्यालयमा समीक्षा बैठक सम्पन्न गरेको छ।

अनुगमनपछि विज्ञ सदस्य शाहले सर्लाही जिल्लामा आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि अत्यन्तै राम्रो र प्रभावकारी काम गरेको प्रतिक्रिया दिएका छन्। साथै, उनले प्रक्रिया पुरा भएका फाईलहरुमा चाँडो निर्णय गर्न निर्देशनसमेत दिएका छन्।

जिल्ला अध्यक्ष मदन विश्वकर्माका अनुसार आयोगले सर्लाहीका लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती, बरहथवा र चन्द्रनगरमा नाप नक्सा गर्ने कार्य सम्पन्न गरेको छ।
आयाेगले लालबन्दीमा १८ हजार कित्ता, हरिवनमा ७ हजार, ईश्वरपुरमा ४ हजार, बागमतीमा ७ हजार, बरहथवामा ३ हजार र चन्द्रनगरमा २५० कित्ता जग्गा नाप नक्सा गरिएको जनाएको छ।

आयाेगले लालबन्दीमा ५ सय, ईश्वरपुरमा २ सय ५०, हरिवनमा ३ सय, बरहथवामा २ सय ५० भन्दा बढी र बागमतीमा ३ सय ३८ जना भूमिहीन तथा सुकुम्बासीहरुको नाममा धनीपुर्जा तयारी अवस्थामा रहेको जनाएको छ ।
यद्यपि, पछिल्लो समय देखिएको राजनीतिक खिचातानीले धनीपुर्जा वितरणमा प्रभाव पारेको आयोगले जनाएको छ।
यता, नेपाली कांग्रेस केन्द्रीय कार्यालयले देशभरका सभापति मार्फत आवश्यक समन्वय र सहयोग गर्न पत्राचार गरेको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा, आयोगद्वारा तोकिएको ढाँचा अनुसार निवेदन संकलनको प्रक्रिया भदौ ३० गतेदेखि सुरु भई ३५ दिनभित्र सकिने भएकाले प्रभावकारी समन्वय गर्न आग्रह गरिएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले आयोगसँग सम्झौता भइसकेका स्थानीय तहमा फारम भरी तोकिएको स्थानमा लगत संकलक मार्फत निवेदन दिनुपर्ने उल्लेख गर्दै पार्टी मातहतका निकायहरुलाई यो कार्यलाई प्राथमिकतामा राखी प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको छ।









