लालबन्दी, भदौ- ९ गते ,राजयोगिनी प्रकाशमणि दादिजीको १८औँ पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, स्वदर्शन भवन, लालबन्दी–७, सर्लाहीले सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।


´रक्तदान गर्नु भनेको केवल जीवन बचाउनु मात्र नभई, आशा, प्रेम र मानवताको उज्यालो फैलाउनु हो´ भन्ने नारासहित आयाेजना गरिएको कार्यक्रममा लालबन्दी ७४ जनाले रक्तदान गरेका छन् ।


बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म ॐ शान्ति चौकस्थित ग्लोबल बैंकको पछाडिको परिसरमा रक्तदान सञ्चालन गरिएको थियो । कार्यक्रमको मधेस प्रदेश सांसद बेची लुंगेलीले रक्तदान गरेर उद्घाटन गरेकी थिइन्।
विभिन्न सेवा केन्द्र र उपसेवा केन्द्रमा साेमवार आयोजना गरिएको रक्तदान कार्यक्रममा कुल १४७ जनाको सहभागिता रहेको आयोजक संस्था ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लालबन्दीले जनाएको छ।


जसमा सेवा केन्द्र लालबन्दीमा ७४ जना, उपसेवा केन्द्र सोल्टीमा २८ जना र लहानमा ४५ जना गरि जम्मा १४७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र अन्तर्गत नवलपुर, हरिपुर, रानिगञ्ज, पत्थरकोटका उपसेवा केन्द्रका सदस्यहरू, आइडियल, रकभेल, बोडिङ स्कुलका विद्यार्थी, सशस्त्र प्रहरी बल, लालबन्दी जेसीज तथा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


रक्तदानजस्ता सेवामूलक कार्यमार्फत सामाजिक सद्भाव, सेवा भावना र बन्धुत्वको सन्देश फैलाउने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।
रक्तदाताहरूलाई ब्रह्माकुमारी प्रभा दिदीद्वारा प्रमाणपत्र तथा प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक संस्थाले जनाएको छ।