
काठमाडौं, भदौ— २ , नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले संघीय निजामती सेवा विधेयकमा केहि सकारात्मक पहलहरू देखिए पनि तल्लो तहका कर्मचारीको हकहितमाथि ध्यान नदिएको टिप्पणी गरेका छन्।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद रिजालले संविधान जारी भएपछि तुरुन्तै आउनुपर्ने यो विधेयक ढिलो प्रस्तुत भए पनि केही सकारात्मक सन्देश दिन सफल भएको बताए। तर, विधेयकको मस्यौदामा योगदान दिने तहका कर्मचारीका मागहरू समेटिए पनि तल्लो तहका कर्मचारीहरूलाई बेवास्ता गरिएको उनको आरोप छ।

सांसद रिजालले संसदीय प्रक्रियामा कतिपय निजामती कर्मचारीहरू सरकार र संसदभन्दा अगाडि जान खोजेकोप्रति आपत्ति जनाउँदै विधेयकका विवादास्पद बुँदाहरूको गम्भीर छलफल आवश्यक रहेको बताए। उनले कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था उपयुक्त ढंगले समेटिनु पर्ने भन्दै समितिमा थप गहिरो बहसको आवश्यकता औंल्याए।

रिजालले राष्ट्रिय सभाको औचित्य सावित गर्न पनि यस्ता विधेयकमाथिको विवादलाई निष्कर्षमा पुर्याउनुपर्ने धारणा राखे।










