काठमाडौं,भदाै—२, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज औपचारिक रूपमा राजनीतिमा होमिने घोषणा गरेका छन्। सोमवार(आज) काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने जानकारी दिए।

प्रसाईंले हालको राजनीतिक अवस्था प्रति असन्तुष्टि जनाउँदै अबको राजनीति जनचाहना र राष्ट्रिय हितमा आधारित हुनुपर्ने धारणा व्यक्त गरे। ‘सबै कुरा विग्रिएको अवस्थामा आम नागरिक निराश छन्,’ उनले भने, ‘राजनीति गर्नुपर्छ भन्ने होइन, परिस्थिति र बाध्यताले मलाई राजनीतिमा ल्याएको हो।’

पूर्वी नेपालमा विभिन्न अभियान चलाउँदै आएका प्रसाईंले विगतमा आफूले गरेको गतिविधिमा रोक लगाइएपछि दल गठनमार्फत सक्रिय राजनीतिक भूमिका निर्वाह गर्ने निर्णयमा पुगेको बताए।राजावादी आन्दोलनमा संलग्न रहेको आरोपमा केही समय डिल्लीबजार कारागारमा रहेका उनी दुई साता अघि मात्रै रिहा भएका थिए। तर उनले आफू राजावादी नभई राष्ट्रवादी भएको स्पष्ट पारे।

दलको औपचारिक नाम र संरचना चाँडै सार्वजनिक गरिने जानकारी दिंदै प्रसाईंले नेपालको राजनीतिक धरातललाई मध्यनजर गर्दै नयाँ शक्ति निर्माण गर्न लागेको बताए।