
सर्लाही, भदौ -२, नेपाल लगायत अन्य विकासोन्मुख देशमा अन्धोपनको प्रमुख कारक मोतीबिन्दु हो । अहिले मान्छेको सरदर आयु बढेको छ । तर जीवनशैली पनि परिवर्तन भएर मधुमेह, उच्च रक्तचापको समस्या बढेको छ, जसले मोतीबिन्दु हुनेहरूको संख्या बढाएको छ ।

नेत्ररोग विशेषज्ञ डाक्टरहरूका अनुसार आँखामा एउटा प्राकृतिक पारदर्शी लेन्स हुन्छ । त्यो लेन्समा कलर परिवर्तन हुँदै आयो, अथवा बाक्लो हुँदै गयो भने आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउछ , जसलाई मोतीबिन्दु भनिन्छ । उमेर बढेसँगै शरीरका हरेक सेल्स परिवर्तन हुन्छन् । त्यसरी नै आँखामा भएको पारदर्शी लेन्स पनि परिवर्तन हुने नेत्ररोग विशेषज्ञहरू बताउँछन् ।

लालबन्दीमा २०६५ साल कार्तिक २५ गतेबाट नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाले जानकी आँखा अस्पताल जनकपुरकाे सहकार्यमा नेत्ररोगका बिमारीलाई सेवा दिदै आइरहेको छ ।
हाल लालबन्दी नगरपालिका वडा नम्बर -५ स्थित जरूवापानी मा सेवा सञ्चालन गर्दै आएको सामुदायिक आँखा उपचार सेवा केन्द्रकाे अव भने स्तर वृद्धि गरिने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाले लायन्सकल्वलाई गरेको प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय लायन्स कल्वद्वारा साझेदारीमा झण्डै २ कराेड बराबरको आँखा अप्रेसन लगायतका उपचारसेवाका लागि उपयोगी अत्याधुनिक उपकरण यहीँ भाद्र महिना भित्रै प्राप्त हुने भएपछि आँखा उपचार सेवा केन्द्रकाे स्तर वृद्धि गरि अस्पतालमा रूपान्तर गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखा सभापति ध्रुव घिमिरेले जानकारी दिए ।
उनका अनुसार अब छिटै , आगामी असाेज महिना देखिनै विशेषज्ञ डाक्टरसहितको नियमित अप्रेसन सेवा समेत सञ्चालन गरिनेछ ।
“संस्थाले जम्मा गर्नुपर्ने भनिएको १७ हजार ७ सय ६० अमेरिकी डलर (नेपाली रूपैयाँ २५ लाख ४० हजार ) हामीले जम्मा गरेको छाै,अब भदौ भित्रै अत्याधुनिक उपकरण आउँछ ,´हामी आँखा उपचार सेवा केन्द्रकाे स्तर वृद्धि गरि अस्पताल बनाउछाै,´सभापति घिमिरेले भने,।
संस्थाले उक्त रकम ऋण सापटी मार्फत व्यवस्थापन गरेको नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाका सचिव भरत गाैतमले जानकारी दिए । उपकरण प्राप्त भएपछि अस्पतालमा स्तर वृद्धि गरि सेवा विस्तार भएपछि उक्त ऋण तिर्ने संस्थाकाे लक्ष्य रहेको उनलेे सुनाए ।
´अहिले केन्द्रमा ५ जना कर्मचारी रहेका छन् , सेवा विस्तार भए पछि थप कर्मचारी आवस्यक पर्ने छ,´सचिव गाैतमले भने ।अहिले सेवा दिइरहेका कर्मचारीलाई उनीहरूले सेवा गरे बापत न्यून पारिश्रमिक मात्र व्यवस्थापन गर्न सकिएको छ ।,अब अस्पतालमा स्तर उन्नति भएपछि राम्रो हुदै जान्छ भने हाम्रो विस्वास छ ,´उनलेे भने ।
उपकरण प्राप्त भएपछि पहिलो चरणमा हरेक हप्ता त्यसपछि हरेक दिननै आँखा अप्रेसन सेवा दिने साेचमा रहेको अध्यक्ष घिमिरेले जानकारी दिए । “अहिले आँखाको अप्रेसनमा सामान्य खालको प्रविधि प्रयोग गरिने गरिएको छ”।अब अत्याधुनिक उपकरणबाट अप्रेसन सेवा प्रदान गरिनेछ,” उनलेे भने ।

नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार सेवा केन्द्र लालबन्दीले गत आर्थिक वर्ष २०८१/ ०८२ मा १७३ जनाकाे मोतीबिन्दुकाे अप्रेसन सेवा प्राप्त गरेको रेकर्ड छ । याे अबधिमा आखाँमा मासु पलाएका २३ जनाको अप्रेसन सेवा प्रदान गरिएको केन्द्रकाे रेकर्डमा उल्लेख छ । अहिले दैनिक २५/३० जना आँखाका बिमारीले सामान्य देखि जटिल खालको उपचार सेवा लिइरहेको सचिव गाैतमले बताए ।
आँखा उपचार सेवा केन्द्रमा नेत्र सहाय सिर्जना झाद्वारा दैनिक १० बजे देखि ४ बजे सम्म सेवा हुदै आएको छ । उपचार सेवा लिन आएका आँखाका राेगिहरूलाई चस्मा लगाउनुपर्ने अवस्था भए १० मिनेटमै तयार गरि दिने गरिएको सचिव गाैतमले बताए । अन्य निजी किल्निकमा भन्दा सुलभ मूल्यमा चस्मा उपलब्ध गराउने गरिएको उनलेे बताए ।आँखाका बिरामीलाई आवश्यक पर्ने औषधी सहुलियत मूल्यमा आँखा उपचार सेवा केन्द्रबाटै स- शुल्क प्राप्त गर्न सकिने उनलेे बताए ।
नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाकाे आफ्नै दुई तले भवन छ । यसमै आँखा उपचार सेवा केन्द्र सञ्चालन गरिएको छ। याे संस्था पछिल्लो समय सर्लाही जिल्लामै उत्कृष्ट संस्थाकाे रूपमा परिचित हुँदै गएको छ । संस्थामा एयस्कर ४ जना, विशिष्ट १३ जना र आजीवन सदस्य ६ सय ५० जना रहेका छन्।









