चन्द्रनगर, साउन- २८,सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–२ निवासी शिक्षक शिवनाथ राउतलाई देशभरका ४० वर्षमुनिका ४० प्रभावशाली युवामध्ये एकको रुपमा अनलाइन खबर मिडियाले सार्वजनिक गरेपछि, गाउँपालिकाले पनि सम्मान गरेको छ।


विपन्न, गरिब, दलित बस्तीका बालबालिकाहरुलाई विगत लामो समयदेखि निःशुल्क ट्युसन पढाउँदै आइरहेका राउतले शिक्षा सेवा मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरिरहेका छन्।


उनी गाउँकै सामान्य ट्युसन मास्टरका रुपमा चिनिए पनि राष्ट्रव्यापी स्तरमा प्रतिभाशाली युवाको सूचीमा सूचिकृत हुनु उनको सामाजिक योगदानप्रति उच्च कदर हाे।
चन्द्रनगर गाउँपालिकाले बुधवार एक कार्यक्रमका बीच राउतलाई दोसल्ला ओढाई बधाईपत्र प्रदान गर्दै हौसला अभिवृद्धि स्वरूप सम्मान गरेको जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतोले समाज परिवर्तनका लागि शिक्षा र सेवाभाव नै मूल मार्गदर्शक भएको उल्लेख गर्दै राउतको कार्यलाई आदर्शको रुपमा लिनुपर्ने बताए ।,” अध्यक्ष महतोले भने, “शिवनाथ राउतजस्ता शिक्षकमार्फत हाम्रो गाउँले राष्ट्रिय पहिचान बनाइरहेको छ, जुन हामी सबैका लागि गर्वको विषय हो।”
राउतले आफूले गरेको सेवा मुल्यांकन गर्दै गाउँपालिकाबाट प्राप्त सम्मानले थप प्रेरणा प्रदान गरेको बताए। उनले भने, “यो सम्मान मेरो मात्र होइन, समाज परिवर्तनमा विश्वास गर्ने सम्पूर्ण शिक्षक, अभिभावक र बालबालिकाको हो।”