ईश्वरपुर, साउन -२९, सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवासमा रहेको नगर अस्पतालमा मृगौला रोगीहरूको उपचारका लागि आवश्यक पर्ने डायलाईसिस सेवा अब छिट्टै सुरु हुने भएको छ।


नगर प्रमुख मनोज कुमार आचार्यको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा, टेकु काठमाडौंबाट झण्डै ६० लाख मूल्य बराबरको डायलाईसिस मेशिन लगायत आवश्यक औजार तथा सामग्रीहरू प्राप्त भएपछि सेवा सुरु गर्ने तयारी भएको हाे ।


“नगरपालिकाले माग गरे अनुसार स्वास्थ्य सेवा विभागबाट  डायलाईसिस मेशिन,रिप्रोसेसिंग मेशिन, मिक्सिंग मेशिन, र पि.ओ. मेशिन प्राप्त भएको छ,अब डेढ महिना भित्र सेटपकाे काम सम्पन्न गरि , सेवा सुरु हुन्छ ,´ नगरप्रमुख आचार्यले चियाेचर्चाे दैनिकसँग भने । यी उपकरणको प्रयोगमार्फत नगरवासीहरूले गुणस्तरीय र प्रभावकारी मृगौला उपचार सेवा लिन सक्ने नगर प्रमुख आचार्यकाे विश्वास छ ।


झण्डै  ७० हजार जनसंख्या रहेको ईश्वरपुर नगरपालिकामा  सञ्चालनमा रहेको १५ शय्याको नगर अस्पतालमा २४ सै घण्टा  इमरजेन्सी सेवा समेत उपलब्ध गराइएको नगर प्रमुख (मेयर) आचार्यले जानकारी दिए। बिरामीहरूको चाप दिनानुदिन बढ्दै गइरहेकाले आफूले  डायलाईसिस सेवा सुरु गरि मृगौला रोगीहरूलाई स्थानीयस्तरमै उपचारको सुविधा दिन प्रयत्न गरेको नगर प्रमुख आचार्यले बताए ।
याे सेवाका लागि अस्पतालमा डिप बोरिङ, आरो मेशिनका लागि पानी ट्यांकी, ट्रान्सफर्मर लगायतको आवश्यक पूर्वाधार निर्माण गरिसकिएको  नगरपालिकाले जनाएको छ ।


नगरले डायलाईसिस सेवा सञ्चालनका लागि  तीन जना स्टाफ नर्सलाई राष्ट्रिय मृगौला उपचार केन्द्र, बनस्थलीमा तीन महिनाको विशेष तालिम पनि दिइसकिएको जनाएको छ । नगर प्रमुख आचार्यले जनस्वास्थ्यका लागि आफूले गरेको  प्रतिबद्धता र दीर्घकालीन योजना अनुरूप काम भएको बताए। नगरपालिकाले बुधवार प्राप्त गरेको उक्त सामग्री आज आइपुगेको  हाे ।