हरिवन, साउन -२०, सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकममा कटौती गर्ने संकेत गरेपछि देशभरका किसान आन्दोलित भएका छन्।
किसानले पूर्वनिर्धारित कार्यक्रम अनुसार सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै मंगलवार दिउँसो चिनी मिलअगाडि टायर बालेर प्रदर्शन गरे ।


देशभरमै सबैभन्दा धेरै उखु खेती हुने सर्लाहीक तीन प्रमुख चिनी मिल इन्दुशङ्कर चिनी मिल हरिवन , अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी चिनी मिलबगदह अगाडि सयौं किसान भेलाभएर टायर बालेर प्रदर्शन गरेका हुन ।


उनीहरुले २०६६ सालमा आन्दोलन गरेर प्राप्त गरेको प्रतिक्विन्टल ७० रुपियाँ अनुदानलाई निरन्तरता दिन माग गरेका छन्। साथै, गत वर्ष बिक्री गरिएको उखुको बाँकी रहेको १ अर्ब ६० करोड रुपैयाँ तुरुन्त भुक्तानी गर्न र मूल्य निर्धारण प्रक्रियामा किसानको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।
सरकारले अनुदान बापतकाे ७० रुपियाँबाट घटाएर ३५ रुपियाँ मात्र अनुदान दिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला किसानहरुले त्यो प्रस्ताव आफूलाई मान्य नहुने स्पष्ट पारेका छन्। उनीहरुले यदि साउन महिनाभित्र माग सम्बोधन नभए भदौ ८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा देशभरका किसान भेलाभई धर्ना सुरु गर्ने यसअघि नै सर्लाहीका प्रजिअ मार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइ चेतावनी दिएका थिए ।


प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मलाई भद्र तरिकाले भेटी ज्ञापनपत्र बुझाइसकेको किसान संघर्ष समितिले आफूहरुको जायज माग अझै बेवास्ता भएको गुनासो गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
सर्लाहीका उखु उत्पादक संघले आइतवार प्रजिअ तुलसी बहादुर श्रेष्ठमार्फत सिंहदरबारमा पठाइएको थियो ।
संघका कार्यवाहक अध्यक्ष श्यामबाबु रायद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा सरकार गम्भीर नभए सशक्त आन्दोलन गर्ने उल्लेख छ।


उखु किसान सङ्घर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीले अनुदान कटौती भएसँगै किसान उखु खेती छोड्न बाध्य हुने, चिनी उद्योग बन्द हुने र देशभर चिनीको अभाव सिर्जना हुने चेतावनी दिएका छन्।