
सिन्धुली, साउन -१७ ,लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध भएको छ। पहिरो र लेदोको कारण सडकमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा लेदो थुप्रिँदा ओखलढुङ्गाबाट काठमाडौँतर्फ गइरहेको ११ वटा भैँसी बोकेको ना ७ ख ७८९० नम्बरको ट्रक हिलोमा फसेको छ। प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार ट्रक हटाउने प्रयास जारी छ। त्यस्तै, बाटो अबरुद्ध भएकाले अन्य तीनवटा ट्रक पनि बीच बाटोमै ‘होल्ड’ गरिएको छ।

यसबाहेक, सोही गाउँपालिकाको बलेनी क्षेत्रमा सडक माथिबाट खसेको ठूलो पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो। यसकारण खुर्कोट–घुर्मी सडकखण्ड हुँदै चल्ने सवारीसाधनहरु खुर्कोटमै रोकिएका छन्।पूर्वी जिल्लाहरू ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायत क्षेत्रबाट काठमाडौँ जाँदै गरेका सवारीका यात्रुले केही समय प्रतीक्षा गर्नुपर्ने अवस्था आएको छ। लगातार वर्षाका कारण बाटो खोल्ने प्रयासमा कठिनाइ भए पनि सम्बन्धित निकायले पहिरो हटाउने काम अगाडि बढाएको छ।










