
कृष्ण थपलिया /सर्लाही
साउन १७ — नेपाल पर्यटन बोर्डले सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ र ७ मा अवस्थित स्थानीयले(बाउन्न बिघे) तालसमेत भन्ने गरेको नाढीमन ताललाई देशभरका १०० प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक रहेको घोषणा गरेको छ।
ताललाई नेपाल सरकारको मन्त्री परिषद्ले औपचारिक रूपमा पारित गरी पर्यटकीय गन्तव्यका रूपमा मान्यता दिएको हो। चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोका अनुसार तालको प्रवर्द्धनका लागि लामो समयदेखि गरिरहेको पहल अहिले सफल भएकोमा अत्यन्तै खुसी लागेको जानकारी दिए।

शुक्रवार, नेपाल पर्यटन बोर्डले नाढीमन तालको विशेषता समेटिएको क्युआर कोड चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोलाई हस्तान्तरण गरेको छ। मेटल प्लेटमा तयार गरिएको उक्त क्युआर कोडमार्फत स्वदेशी तथा विदेशी पर्यटकहरूले तालको ऐतिहासिक, प्राकृतिक र धार्मिक पृष्ठभूमिबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
पर्यटन बोर्डले नाढीमन ताललाई “नेपालमा घुम्न लायक गन्तव्य” मानेर आफ्नो वेबसाइटमा समावेश गरेको छ। सो वेबसाइटमा तालको महत्व झल्काउने रोचक कथा पनि समावेश गरिएको छ, जसमा स्थानीयहरूले आफ्ना पुर्खाबाट सुनेका ऐतिहासिक विवरणहरू प्रस्तुत गरिएका छन्। यसले नेपालकाे इतिहासप्रति चासो राख्ने पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

नाढीमन तालको उत्पत्तिसम्बन्धी धेरै कथा प्रचलित छन्। स्थानीयहरूका अनुसार यो ताल महाभारतकालसँग जोडिएको छ र हजारौँ वर्ष पुरानो हुन सक्ने अनुमान गरिएको छ।
विसं १९७४/७५ तिर तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सो क्षेत्रका ७०० बिघा जग्गा बडाकाजी श्री मरिचिमण सिंह प्रधानलाई दिएका थिए। त्यसपछि उक्त क्षेत्रमा वन फँडानी र बसोबास सुरु भएसँगै यो तालको अस्तित्व स्थानीयहरूले फेला पारेको जनविश्वास छ।

ताल प्राकृतिक सौन्दर्यले भरिएको मात्र होइन, धार्मिक र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यस क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकासमा गाउँपालिकाले विशेष चासो दिएको अध्यक्ष महतोले जानकारी दिए।
पर्यटन बोर्डसँगको सहकार्यमा तालमा आउने पर्यटकहरूको सहज बनाउने योजना गाउँपालिकाले अघि सारेको छ। डिजिटल प्रविधिको प्रयोग गरेर पर्यटकलाई जानकारी प्रदान गर्ने पहलले नेपालको ग्रामीण तथा सांस्कृतिक पर्यटनमा ठुलो याेगदान पुर्याउने विश्वास लिइएको छ ।










