कृष्ण थपलिया /सर्लाही
साउन -१३ , आज साउनको मध्य भयो तर शून्य जस्तै वर्षा अनि ब्राह्मण फुट्ला जस्तो घाम छ, मधेसको खेतहरूमा  चिरा(धाँजा) फाटेकाे देखिन्छन्।
खेतहरू अझ धेरै  बाँझै  छन्—यसले  किसानहरूको आशा पनि मार्दै  लगेको छ। धान रोप्ने बेलामा पानी नपर्नु  तराई मधेसीका किसानहरूका लागि केवल कृषिका लागि  संकट मात्र  होइन,अनिष्ट ,अनिकालकाे संकेत  पनि  हो। यही सम्झेर , यहाँका महिलाहरूले सदियाैं  पुरानो परम्परालाई पुनरावृत्ति गरे, हलो समाते—र जनप्रतिनिधिलाई पनि हलो जोत्न लगाए।


थारु समुदायमा एक परम्परा छ—जब वर्षा हुँदैन( खडेङ) पर्छ, महिलाहरू गाउँका घरघरमा गइ प्रतिकात्मकरूमा हलो जोतेर इन्द्रदेवसंग पानी माग्छन्। यो शुद्ध प्रार्थना हो—एक किसिमको  प्रार्थना हाे जसमा विश्वास भरिपूर्ण छ।
तर यसपटक , महिलाहरूले हलो जोत्नका लागि जिल्लाकै सांसदहरूलाई समेटे। प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी र प्रदेशसभा सदस्य उर्मिला सिंह थारुलाई ‘प्रहरी पोशाक’मा सजिएर ‘पक्राउ’ गर्दै खेतसम्म लगे। हलो दिइयो, जाेत्न लगाइयो,अनि महिलाहरूले रोपाइँ गरे—साच्चिकै धान रोप्नभन्दा धेरै, उनीहरूले सन्देश रोपे ।


रामनगरकी ६२ वर्षीया जमुना देवी भन्छिन्  “ जब खडेरी पर्थ्याे हामी वर्षाै पहिला पनि यस्तै गर्ने गर्थ्याै हलो जोतेर  महादेव अनि इन्द्र भगवानसंग पानी माग्थ्यौं। अहिले पनि हामीले त्यहीँ गरेका हाै , तर यश पटक नेताहरूलाई पनि देखाउनुपर्‍यो। हामीसँग माइक छैन, तर खेत छ, हलो छ, पसिना र विश्वास  छ।”
यो आवाजमा कसै प्रति आक्राेश  थिएन, कसैलाई हाेच्याइ  थिएन— मात्र माटाे र अन्नको प्रेम ईश्वर प्रति आस्था र विस्वास थियो।


नेपाल सरकार र मधेश प्रदेश सरकारले खडेरीका कारण मधेशलाई विपद्–ग्रस्त क्षेत्र घोषणा गरिसकेका छन्। तर त्यो घोषणा कागजमै सीमित देखिन्छ। साना स्यालो ट्यूबवेल सुकेका छन्, सिँचाइ योजना  कार्यान्वयनकाे चरणमा प्रवेश गर्न सकेको छैन । धानका ब्याड सुकिसके खरून  बुढाे भएको छ ।किसानहरूले धान राेप्नकै लागि साहुसंग लिएको ऋणको ब्याज दिनानुदिन बढी रहेको छ । धान राेप्न पाइएन साहुसंग लिएको ऋणको सावाँसहित भुक्तानी कसरी गर्नु किसान ठुलो चिन्तामा छन् ।साँच्चिकै, याे खडेरीले भोक मात्र होइन, भरोसा पनि मार्दैछ किसानकाे ।


जनप्रतिनिधिहरू हलो जोत्दा थुप्रैले ताली पिटे, खित्का छाडेर हाँसे—किनभने त्यो दृश्य असाधारण थियो।  महिलाहरूले  त्यो दृश्यलाई प्रार्थना पूरा हुने विश्वास लिए अनि प्रतीकात्मक विरोधको रूपमा—दुवै अर्थमा त्यो सन्देश गहिरो थियो।
एक स्थानीय शिक्षक भन्छन्, “नेता हलो समाउँदा यस्तो लाग्यो—शायद उनीहरूले किसानकाे पीडालाई थाेरै भएपनि  अनुभव गरे। तर त्यो पीडा हामी किसानकाे लागि सधैंको हो। त्यसकाे समाधान चाहिन्छ, सहानुभूति मात्र होइन।”
रामनगरमा हलो जोतेका ती महिलाहरूको सपना केवल पानीको आशामा सीमित छैन। त्यो हलोले चेतना, उत्तरदायित्व, र परम्पराको पुनर्ब्याख्या गरेको छ ।