लालबन्दी, साउन -१३,लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर निवासी नेपाली कांग्रेसका वडा सभापति धुर्व बुढाथोकीको गएराति १० बजे हृदयघातका कारण निधन भएको छ। ४१ वर्षीय बुढाथोकीको असामयिक निधनले नेपाली कांग्रेस सर्लाहीमा शोकको  डुबेको  छ।


बुढाथोकीको निधनको खबरले आफूलाई स्तब्ध तुल्याएको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले  बताए । उनले बुढाथोकीलाई सच्चा, इमानदार र कर्तव्यनिष्ठ नेता भन्दै कांग्रेसले एक असल र पार्टी प्रति समर्पित व्यक्तित्व गुमाएको बताए।


सर्लाही क्षेत्र नम्बर १ (ख) का सभापति सीताराम दाहालले  बुढाथोकीको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै पार्टीका लागि उनी अत्यन्त सक्रिय र समर्पित कार्यकर्ता भएको स्मरण गरे।


नेपाली कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्यले बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै ४१ वर्षको उमेरमै उनको असामयिक निधनले पार्टीले एक असल सिपाही गुमाएको बताए। उनले बागमतीस्थित घाटमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर उनलाई श्रद्धाञ्जली अर्पण गरिने जानकारी दिए।


धुर्व बुढाथोकीको दहासंस्कार अहिले  बिहान ८:३० बजे बागमतीस्थित घाटमा हिन्दू परम्पराअनुसार गरिने कार्यक्रम तय गरिएको छ।
नेपाली कांग्रेस सर्लाहीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त  गरेका छन्।