
सर्लाही, साउन- १२, जिल्लाको ब्रहम्पुरी गाउँपालिका–७ मोहनगंजस्थित भित्री सडकखण्डमा स्कुल बसले च्यापेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगंजका रमेश महतोका ५ वर्षीया छोरी आशिका महतो रहेकी छिन् ।

साेमवार (आज) अपरान्ह ४:२० बजेको साउनमा ईश्वरपुर नगरपालिका–१ चौलिखा स्थित रहेको टेमुको एकेडेमीको (ना.प्र.०३-००१ क २५४२) स्कुल बसले च्यापेर साेही विद्यालयमा अध्ययनरत बालिकाको मृत्यु भएको हाे ।

स्कुल सकिएर घर जाने क्रममा बसबाट झर्दै गर्दा पछाडिको चक्काले किच्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्काल उपचारको लागि जीवन नारायण अस्पताल, बयलबास लगिएकोमा चिकित्सकले ४:४० बजे उनलाई मृत घोषणा गरेका थिए।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलगवा राखिएको छ। दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा संलग्न बसलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









