कृष्ण समर्पण......

करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट चिनिन्छ ।
नेपालमा पुर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ वटा जिल्लाहरुमा फैलिएको र कुल चुरेको भू–भागको १२.७८ प्रतिशत छ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएपछि उकोलो तेर्सो दुम्की हुदै चुरेमा पुगिन्छ । महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा क्रमशः होचो लोरालो हुदै भेटिने अन्तिम र कान्छो पहाड नै चुरे पहाडको रुपमा परिचित छ । सामान्यतया पूर्ण रुपमा नखाँदिएको र कडा चट्नको रुपमा विकसित हुन नसकेको खुकुलो पत्रे चट्टान भएको चुरेलाई पहाडलाई छिचोल्दै महाभारत श्रृङखला भएर बग्ने नदीले तराई मधेसमा प्रवेश गर्छ। चुरेको बनावट भौगोलिक दृष्टिकोणले अति समवेदनशील र कमजोर चट्टान हो । भु–बनावट कमजोर भएकाले प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील छ। यही चुरेले सर्लाहीको बागमती नदि पूर्व ,वाँके खोला पश्चिमको भागलाई समेटिएको छ।


सर्लाही जिल्ला,लालबन्दी नगरपालिकाको उत्तरी क्षेत्र तराईको समथर फाटबाट धेरै निकट,अनि बिकट क्षेत्रमा चुरे पर्वत श्रृङखला छ ।यही भूभागको एउटा अनुपम र सम्भावनायुक्त क्षेत्र — समुन्द्री सतहबाट १५२ मिटर उचाइमा अवस्थित लालबन्दी नगरपालिका–१५ अन्तर्गतको अर्नेडाँडा, कर्मडण्डी र वाहुनीडाँडा विकासको पर्खाइमा छ । चुरे क्षेत्रको विकासका लागि दीर्घकालीन योजना आवश्यक हुन्छ । यस क्षत्रमा पूर्वाधार विकास सडक संजाल विस्तारमा प्रविधिक मूल्यांकन र पूर्वाधार विकास गर्दा आपनाउनु पर्ने पूर्वसावधानी पनि त्यतिकै आवश्यक हुन्छ । चुरेलाई अन्न उत्पादनको भुमि भन्दा बैकल्पिक रुपमा फलफूल र जडिबुटी उत्पादनको क्षेत्र बनाउनु उपयुुक्त हुन्छ । त्यसकालागि स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकार मिलेर ठोस योजना ल्याउनु आवश्यक छ।
हजारौं वर्षको इतिहास बोकेको यो क्षेत्र अहिले पनि असाध्यै दुर्गम र उपेक्षित छ, तर यसको काखमा लुकेको प्रकृति, जैविक विविधता र सांस्कृतिक मौलिकता चुरे प्रमुख सम्पदा हो, जसले केवल स्थानीय नभई राष्ट्रिय समृद्धिमा समेत योगदान पु¥याउन सक्छ।


जैविक विविधता र वनस्पतिक र सम्पदाका हिसाबले बाहुनीडाँडा अर्नेडाँडा र त्यसका वरपर पाइने जडिबुटीहरू – सिस्नु, कालीनिउरो, तितेपाती, कालोवनमारा , रानीसिन्का,भुज्रत्रो धगेरो,पारिजात, औषधीय गुणले भरिपूर्ण वनस्पति हुन । यिनीहरूको वैज्ञानिक व्यवस्थापन गरियो भने, आयुर्वेदिक क्षेत्रमा ओैषधिय सम्भावना फस्टाउन सक्छ ।
यस्तै, महाभारत श्रृङखलामा पाइने चाँप, चिलाउने, विलाउने, पयु,कटुस जस्ता महत्त्वपूर्ण वनस्पतिहरूले यहाँका डाँडाकाँडा ढाकिएका छन् । यिनको संरक्षण र दिगो व्यवस्थापनले जैविक प्रणालीलाई सन्तुलनमा राख्न ठूलो भूमिका खेल्न सक्छ ।
यहाँ फलफूल खेतीदेखि दृश्य अवलोकनका हिसाबले पर्यटनको उत्तिकै सम्भावना छ । महाभारत श्रृङ्खलाको उचाइमा अवस्थित भएपनि, यहाँको हावापानी भने फलफुल खेतीका लागि अत्यन्त अनुकूल छ । जुनार, सुन्तला ,कटहर केरा ,कागती ,निबुवा ,जस्ता फलफूल अहिले पनि लटरम्म फलेका देखिन्छन् । यदि वैज्ञानिक कृषि प्रणाली र सहकारी संरचनामार्फ विकास गरियो भने, यो क्षेत्र कृषि पर्यटनको लागि पनि महत्त्वपूर्ण गन्तव्य बन्न सक्छ।त्यसकालागि स्थानीय सरकार तथा प्रदेश सरकारले स्थानीयलाई उचित फलफूल खेतीमा अनुदानको व्यवस्थापन गरि प्रोत्साहन गर्नु आवश्यक छ।


’’सर्लाहीमा सुन्तला झझ कार्यक्रम लागू गरि तत्कालै स्थानीय सरकारले काम सुरु गरे भोलिका दिनका प्रदेश र संघकी सरकारपनि कार्यक्रम संचालन गर्न बाध्य हुने देखिन्छ ।
त्यसैगरी दृश्यावलोकन र पर्यटकीय सम्भावनाको हिसाबले हेर्ने हो भने बाहुनीडाँडाबाट एकैसाथ तराईको फाटदेखि महाभारत श्रृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ ।
यो विशेषताले नै पर्यटकलाई आकर्षण गर्ने प्रमुख कारण बन्न सक्छ । सामान्य होमस्टे, पदमार्ग, गाइड तालिमजस्ता पूर्वाधार तयार गरियो भने, यहाँबाट आन्तरिक मात्र नभई बाह्य पर्यटकसमेत लोभिन सक्छन्।
यहाँको संस्कृति र मौलिकताको जगेर्ना गर्दै तामाङ समुदायको मौलिक भाषा, पोशाक, चाडपर्व, नाचगान र परिकारहरू (जस्तै ढिँडो,फापरको भोल्टा वावर रोटी पर्यटकका लागि नयाँ स्वादमा चाखलाग्दा विषय बन्न सक्छन् । सांस्कृतिक पर्यटनलाई प्रोत्साहन गर्न सके यसले तामाङ समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै उनीहरूको परम्परागत ज्ञान सिपलाई संरक्षणमा समेत टेवा पुर्यारउँछ।


यति धेरै सम्भावना बोकेको ठाउँ भएर पनि राज्यको बेवास्ताका कारण यहाँ भौतिक पूर्वाधारको अभाव छ । दुर्गम बाटो, कमजोर सञ्चार सुविधा खानेपानी र बिजुली बत्तीको अभाव , आधारभूत शिक्षा तथा स्वास्थ्य सेवाको समुचित बिकास हुन नसक्दा जनजीवन भने कष्टकर छ ।
स्थानीय सरकारले केही विकासको काम गर्न खोजेपनि आधारभूत आवश्यकता पूरा गर्ने सक्दैन ।त्यसको लागि प्रदेश र संघीय सरकार लागि पर्नुपर्छ । सरकारले यस्ता दूरदराज क्षेत्रको विकासमा ध्यान दिने हो भने देश समृद्धि हुन धेरै समय लाग्दै ।
अहिले त्यहाका नागरिक तीनघण्टा हिडेर तल बजार सम्म धाएर स्वास्थ्य सेवा लिन बाध्य छन। बालबालिका कतिपय खोप सेवा लिनबाट समेत बञ्चित भएका छन। यहाँका धेरै बालबालिका कुपोषणको सिकार भएका छन्।
अर्नेडाँडा, कर्मडण्डी र वाहुनीडाँडा केवल भूगोलको हिसाबले दुर्गम छन्, तर स्रोत र सम्भावनाको हिसाबले धनी छन् ।ती स्थानहरूमा राज्यले सहि दृष्टि दिनेहो र दीर्घकालीन योजनाकासाथ लगानी र स्थानीय सहभागिता सुनिश्चित गर्ने हो भने, यस क्षेत्रले लालबन्दी नगरपालिका मात्र नभइ सिङ्गो देश अनि मधेसको आर्थिक, पर्यटकीय र सांस्कृतिक विकासमा ठुलो योगदान राख्न सक्छन्।


अब आवश्यक छ– दिगो विकासका योजना ,बैकल्पिक कृषि प्रणाली चुरेको नागरिकको आयस्तर वृद्धि र चुरेको माटो संरक्षण हुने योजनालाई कार्यान्वयनमा उतार्ने।
(पत्रकार रामबाबु खडकाको समन्वयम)