प्रतिकात्मक तस्बिर ।

सर्लाही, साउन –११ ,जिल्लाकाे  लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित एक चौतारामा आइतवार एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
पूर्वपश्चिम राजमार्गबाट साहेबगन्जतर्फ जाने चोक नजिकै रहेको चौतारामा अन्दाजी ६५ वर्षीय पुरुषको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय, लालबन्दीका अनुसार मृतक मोरङको सुन्दरहरैचा नगरपालिका–७, गच्छिया टोलका धनबहादुर कार्की रहेका छन्।शुरुमा शवको पहिचान हुन सकेको थिएन तर पछि मृतकका ज्वाइँ घटनास्थलमा आएर सनाखत गरेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक तथा लालबन्दी प्रहरी प्रमुख वीरेन्द्रसिंह जोहारीका अनुसार घटनास्थलमा बेवारिसे अवस्थामा भेटिएका वृद्धको प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने  प्रारम्भिक अनुमान गरिएको छ।


घटनास्थलको विवरण संकलन गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाइएको छ।