सिरहा,साउन -१०, जिल्लाकाे लहान–३ अस्पताल चोक नजिकैबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।


सशस्त्र प्रहरी बल, नेपालले शनिवार लहानतर्फ आउँदै गरेको यात्रुबाहक बसबाट भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार निवासी करिब २४ वर्षीय राहुल कुमारलाई नियन्त्रणमा लिएको हो।


सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार सुरक्षा वेश क्याम्प लहानबाट खटिएको टोलीले नियमित सवारी जाँचको क्रममा राहुल कुमारलाई रु १० लाख एक हजार ६९५ नगदसहित नियन्त्रणमा लिएको हो। उक्त नगद रकमको वैध स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राहुललाई बरामद नगदसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।