![]()
सर्लाही ,साउन – ३,जिल्लाको लालबन्दी स्थित थाेक तरकारी बजारका व्यापारीले भोलिदेखि अनिश्चितकालका लागि तरकारी नकिन्ने भएका छन् ।

नगरपालिकाले ताजा तरकारी निकासीमा लगाउँदै आएको कर हटाउने विषयमा बेवास्ता गरेको भन्दै लालबन्दी तरकारी फलफूल थोक बजार व्यवसायी संघले पत्रकार सम्मेलनकाे आयोजना गरि आन्दोलन घोषणा गर्दै , भाेली (आइतवार)बाट तरकारी नकिन्ने जानकारी दिएको हो।

यसअघिकाे नगर प्रमुख, दलीय प्रतिनिधि र व्यापारीबीच भएको छलफलमा साउनदेखि लागू हुने नयाँ करको विषयमा नगरसभाबाट निर्णय गर्ने सहमति भएकोमा त्यसको कार्यान्वयन नभएको कृषि थोक बजार व्यवस्थापन समिति, लालबन्दीका अध्यक्ष प्रमोदप्रसाद थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार तरकारी निकासीमा लगाउँदै आएको कर हटाउने विषयमा तत्परता नदेखाइएकाले व्यवसायी आन्दाेलित भएका हुन ।

आन्दोलनका क्रममा बजारमा थाेक तरकारीको किनबेच पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएकोले भोलि (आइतवार )देखि तरकारीको किनबेच ठप्प हुने संघले जनाएको छ। आन्दोलनका क्रममा सडक जाम भने नगर्ने व्यवसायी संघका अध्यक्ष दरेश चौधरीले बताए ।
लालबन्दी बजार विशेषगरी टमाटर बाेडी लगायतका तरकारी उत्पादनका लागि चर्चित मानिन्छ। यहाँ उत्पादित ताजा तरकारीहरू राजधानी काठमाडौंदेखि देशका विभिन्न ठूला सहरसम्म पठाइने गरिन्छ। वर्षेनी अबर बढीको तरकारी निकासी हुँदै आएको भए पनि आन्दोलन लगायतका कार्यक्रमले यसमा नकारात्मक प्रभाव पार्ने देखिन्छ ।

व्यवसायी संघका अध्यक्ष चौधरीका अनुसार यश अघि बिगत ५ वर्षदेखि नगरपालिकालाई निकासी कर हटाउन आग्रह गर्दै आएको तर सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनको बाटो रोजिएको बताए। उनका अनुसार अन्य नगरपालिकाहरूमा यस्तो कर नलाग्ने भए पनि लालबन्दीमा मात्र जबर्जस्ती कर लादिएकाले किसान र व्यवसायी दुवै अन्यायमा परेको अवस्था छ।









