![]()
कृष्ण थपलिया / सर्लाही
साउन -४, निकासी करको विरोधमा ताजा तरकारी खरिद नगर्ने घोषणा गरेको थोक बजार व्यवसायी संघले लालबन्दी नगरपालिकाले शुल्क अस्थायी रूपमा स्थगन गरेपछि भाेलि (साेमवार) बाट पुनः नियमित कारोबार सुरु गर्ने निर्णय गरेको छ।

नगरपालिकासँगको प्रत्यक्ष छलफलपछि निकासी करको विषय कार्यदलमार्फत टुंगो लगाइने सहमति बनेको संघले जानकारी दिएको छ। संघले श्रावण ४ गते प्रकाशित सूचना मार्फत अनिश्चितकालीन काराेबार बन्दको घोषणा गरेको थियो।

बन्दका कारण किसान, मजदुर, उपभोक्ता र व्यवसायीहरुमा परेको असरप्रति क्षमायाचनासहित अध्यक्ष दरेश चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुनः कारोबार सुरु गर्ने निर्णय गरिएको उल्लेख छ।
यसअघि लालबन्दी नगरपालिकाले लगाउँदै आएको निकासी करप्रति आपत्ति जनाउँदै व्यवसायी संघले आन्दोलनको घोषणा गरेको थियो। आज नगरपालिकाले सूचना जारी गरि उक्त शुल्क अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरेको जनाएपछि व्यवसायीहरू तरकारीको नियमित खरिदबिक्री गर्न मञ्जु भएका हुन ।

संघले सूचना जारी गरि सबै व्यवसायी, किसान, मजदुर तथा उपभोक्ताहरूलाई तरकारी खरिद–विक्री नियमित रूपमा अगाडि बढाउन अपील गरेको छ।










